बढ्दो आयातसँगै चुलिँदै वैदेशिक व्यापार घाटा
काठमाडौं, १४ चैत । आयातमा बढोत्तरी आएसँगै मुलुकको व्यापार घाटाको ग्राफ पनि बढ्दै गएको छ । तुलनात्मक रुपमा कोभिड प्रभाव घटेर आयात पुरानै लयमा फर्किन थालेपछि व्यापार घाटा समेत चुलिएको हो । भन्सार विभागको तथ्यांकअनुसार एक महिनामै वैदेशिक व्यापार घाटा १ खर्ब २९ अर्ब ४८ करोड ३२ लाख बढेको छ ।
चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख पुगेको छ, जब कि एक महिनाअघि अर्थात् माघ मसान्तसम्ममा यो ७ खर्ब ३३ अर्ब ७२ करोड ११ लाख थियो । विभागको तथ्यांक अनुसार चालू आवको ८ महिनामा आयात २ दशमलव १४ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्ब ३९ करोड ८८ लाख रुपैयाँ बराबरको पुगेको छ । गत आवको सोही अवधिमा ९ खर्ब २४ अर्ब २४ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।
चालू आवको ८ महिनामा डिजेल सबैभन्दा बढी अर्थात् ४७ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ । यस्तै ४४ अर्ब ४५ करोड रुपैयाँको एमएस बिलेट भित्रिएको छ । आयातको तेस्रो स्थानमा रहेको मोबाइल आयात २६ अर्ब ३० करोड रुपैयाँ बराबरको भएको छ । साथै सो अवधिमा २५ अर्ब २ करोड रुपैयाँको भटमासको कच्चा पदार्थ आयात भएको तथ्यांकले देखाएको छ ।