आगामी बजेटले पर्यटन क्षेत्रको पुनरुत्थानलाई पहिलो प्राथमिकता दिनु पर्छ : पर्यटनमन्त्री ढकाल
काठमाडौं, २१ चैत । संस्कृति पर्यटन तथा नागरिक उड्डायन मन्त्री भानुभक्त ढकालले आगामी बजेटमा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने कार्यक्रम ल्याउँन पहल गर्ने बताएका छन् । होटल संघ नेपालको ४७ औं वार्षिक साधारणसभामा बोल्दै मन्त्री ढकालले पर्यटन क्षेत्र कोभिडले सबैभन्दा बढी प्रभावित भएको भन्दै यो क्षेत्रलाई चलायमान बनाउँन पर्यटन मन्त्रालयले अर्थमन्त्रालयसँग आवश्यक छलफल अगाडि बढाएको बताए । कोभिडको दोस्रो लहर सुरु भएकाले स्वास्थ्य सुरक्षा अपनाएर व्यवसाय गर्न पनि व्यवसायीलाई आग्रह गरे । उनले व्यसायीलाई पलायन हुन नदिन सरकारले आवश्यक सहयोग गर्न तयार भएको बताए । पर्यटन क्षेत्रलाई चलायमान बनाएर अर्थतन्त्रलाई गतिशिल बनाउँनतर्फ सरकार सकारात्मक रहेको उनको भनाई छ ।
त्यस्तै होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले पर्यटन क्षेत्रलाई चलायमान बनाउँनका लागि सरकारले आन्तरिक पर्यटनलाई प्रवद्धन गर्नुपर्ने बताईन् । त्यसको लागि सरकारले दिने साप्ताहिक विदा २ दिन बनाउँनुका साथै विदाका दिन घुम्न जान कर्मचारीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । उनले साता तथा ठूला होटल गरी १५ खर्ब रुपैयाँ लगानी रहेको भन्दै त्यसलाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताईन् । उनका अनुसार हाल यी होटलहरुले ३ खर्ब रुपैयाँ बैंकलाई ऋण तिर्न बाँकी छ ।
त्यस्तै होटलको खर्च कटौतिका लागि बैकल्पिक सामग्रीको प्रयोगमा ध्यान दिन आवश्यक रहेको होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाहले बताए । एक पटक प्रयोग गरेर पुनः प्रयोग गर्न नमिल्ने सामग्री होटलहरुले विस्थापन गर्नसके खर्चमा कमी आउँन सक्ने उनको भनाइ छ ।