५७ अर्ब लागतमा २ हजार २१० किमी सडक बनाइने
काठमाडौं, २२ चैत । सरकारले आगामी ३ वर्षभित्र देशका १६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किमी सडक निर्माण गर्ने भएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोहमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गरेका छन् । उक्त सडक रू. ५७ अर्ब १० करोडको लागतमा ती सडक निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन् । आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी उनले दिए । उनका अनुसार ६२८ वटा सडक पुल निर्माण भएका छन् ।
कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ सडक पनि निर्माणका क्रममा रहेको उनले बताए ।
पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको उनले बताए । उनका अनुसार संघीय सरकारले प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण गरिरहेको छ ।