५० देशबाट सिधै इसेवा खातामा पैसा पठाउन सकिने
काठमाडौं, २६ चैत । विदेशमा भएकाहरुले अब नेपालमा भएका आफन्तहरुको इसेवा खातामा सिधै पैसा पठाउन सक्ने व्यवस्था भएको छ । डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वल्र्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
उक्त सम्झौतापछि वल्र्ड रेमिटका साउथ एशिया कन्ट्री निर्देशक रूजान अहम्मदले नेपालले आफ्ना जनताका लागि तीब्र रुपमा डिजिटल रुपमा सेवा उपलब्ध गराइरहेको बताए । नेपाली जनताले पनि परिवर्तनलाई आत्मसाथ गरेको देखिरहेका उनको भनाइ छ ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न पाउँदा धेरै उत्साहित भएको बताए । साझेदारीले कम शुल्कमा रेमिट्यान्स भित्राउने इसेवाको अभियानमा अर्को एउटा थप आयाम हुने बताए ।
यसै गरी वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड (डब्लुआरनेपाल) प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने बताइएको छ । डिजिटल रेमिट्यान्स प्रवर्दन गर्ने उद्देश्यले वल्र्ड रेमिट र इसेवा मनि ट्रान्सफरले निशुल्क रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको हो । यो योजना जुन ३० सम्म लागु हुने बताइएको छ ।
हाल इसेवा मनि ट्रान्सफरले आफ्नो सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत रेमिट्यान्स भुक्तानी सेवा प्रदान गर्दै आएको बताएको छ ।