प्रतिकूल मौसमले आन्तरिक उडान अझै प्रभावित
काठमाडौं, २७ चैत । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका उडान अझै प्रभावित हुँदै आएका छन् । मौसम खराबीले अन्तरराष्ट्रिय उडान नियमित भए पनि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले बताएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले आन्तरिक उडान केही संख्यामा प्रभावित भएको जानकारी दिएको राससमा उल्लेख छ । विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान थोरै संख्यामा रद्द भएको छ । यान्त्रिक पद्धति (आईएफआर)बाट रात्रिकालीन उडानयोग्य विमानस्थलमा उडान गरिए पनि पोखरा, जनकपुर, सिमरालगायत गन्तव्यको उडान प्रभावित भएको छ ।
अघिल्लो एकसाता मौसम खराबीले उडान रद्द भएको अन्तरराष्ट्रिय विमानस्थलमा पुनः गत चैत २३ गते मंगलवारदेखि उडान प्रभावित भएको हो । काठमाडौं उपत्यकासहित देशभरको आकाशमा बाक्लो धूवाँसहितको तुवाँलो लागेकाले भिजिबिलिटी कम हँुदा खासगरी आन्तरिक उडान प्रभावित बनेको छ ।
अन्तरराष्ट्रिय विमानस्थलको तथ्यांकअनुसार आन्तरिक उडानमा बुधबार विभिन्न एयरलाइन्सका जम्मा ११२ उडानमध्ये ९५ मात्रै उडान भए । १२ उडान रद्द हुनुका साथै पाँच उडान मर्ज गरिएको थियो । यी उडानबाट प्रस्थान र आवागमन दुवै गरी ९ हजार ८२४ यात्रुले हवाईयात्रा गरेका छन् । बुद्ध एयरको सात, यती एयरलाइन्सको चार र सीता एयरको एक उडान रद्द भएको छ । बिहीवार पोखरा विमानस्थल बाहेकका गन्तव्यमा उडान नियमित भइरहेको छ । पोखरामा विगत तीन दिनदेखि उडान हुन नसक्दा यात्रु मर्कामा परेका छन् ।