न्यूनतम पारिश्रमिक वृद्धिको निर्णयप्रति नेपाल निर्यात परिषद्को असहमति
काठमाडौं, २५ वैशाख । नेपाल निर्यात परिषद्ले कोभिड–१९ को दोस्रो लहरसँगै मुलुकमा आर्थिक गतिविधि ठप्प भएको भन्दै सरकारले तोकेको न्यूनतम पारिश्रमिक प्रति असहमति जनाएको छ । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धिबारे गरेको निर्णयले आश्चर्यचकित र स्तब्ध बनाएको भन्दै परिषद्ले एकलैटी निर्णय नगर्न सरकारलाई आग्रह गरेको हो ।
विज्ञप्ति जारी गर्दै परिषद्ले सर्वसाधारणसँगै आम व्यवसायी पनि रक्षात्मक अवस्थामा रहेको जानकारी दिएको छ । ‘यस्तो बेलामा सरकारबाट राहत तथा नीतिगत सहजीकरणको अपेक्षा अस्वाभाविक होइन । तर, नेपाल रोजगारदाता संघ संस्थाका प्रतिनिधिको सहमति बेगर राजनीतिक स्वार्थका लागि गरिएको यस्तो निर्णयले निजी क्षेत्र निराश बनेको छ । यसबाट सरकारले निजी क्षेत्रलाई उपेक्षा, अपमान गरेको तथा सहकार्यको भावना विपरीत अगाडि बढेको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ ।