मुअब्जा विवादका कारण महाकाली सिंचाई आयोजनाको काम सुस्त
बिवेक नागरी
धनगढी १, जेठ । महाकाली सिंचाई आयोजना अन्तर्गत तेस्रो चरणको काम मुअब्जा विवादका कारण ढिलाई भइरहेको छ । करिब ३५ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको निर्माण कार्य सम्पन्न हुन अझै १० बर्ष बाँकी छ । तर मुअब्जा विवादका कारण सो समयसिमा भित्र पनि निर्माण कार्य सम्मन्न हुन सक्ने अवस्था देखिएको छैन् ।
टनकपुर ब्यारेजको पूर्वतर्फबाट कैलालीको मालाखेतीसम्म पुग्ने यो सिंचाइ आयोजनामा भारतीय पक्षले गर्ने काम भने अन्तिम चरणमा पुगेको छ । टनकपुर ब्यारेजमाबाट नेपालका लागी भारत सरकारले एक हजार २ सय मिटर नहर समेत निर्माण गरि सकेको छ । तर नेपालतर्फ भने मुअब्जा विवादका कारण धेरै ठाँउमा नहर निर्माणको काम अलपत्र अवस्थामा छ ।
भारतले केही महिनामै नहरबाट पानी छोड्ने भएपनि सो पानी कहाँ व्यवस्थापन गर्ने अहिले आयोजनाका लागि टाउको दुखाई बनेको महाकाली सिंचाई आयोजनाका तेस्रो चरणका कामु निर्देशक रण बहादुर बमले बताए । उनले प्रचलित कानुन अनुसार मुअब्जा दिन नमिल्ने तर पुस्तौदेखि भोग चलन गर्दै आएको जमिन भएकाले क्षतीपूर्ति नदिई अधिग्रहण गर्न नसकिने अवस्था भएकाले अहिलेसम्म काम तिब्र रुपमा अगाढी बढ्न नसकेको बताए ।
मुअब्जाका बिषयमा मन्त्री परिषदबाट नै निर्णय हुनुपर्ने अवस्था भए पनि सरकारले भने यस बिषयमा कुनै चाँसो नदिदा समस्या भएको उनको भनाई छ ।
टनकपुर ब्यारेजमा मुल नहरको काम निर्माण भईरहेको छ । यसैगरी करिब १२ दशमलव ६९ किलोमिटर काम सम्पन्न भईसकेको छ भने जिरो प्वाइन्टमा रहेको २ सय ३० मिटर नहरको टेन्डर भई काम भईरहेको र बाँकी रहेको काम ३ वटा प्याकेजमा भईरहेकोे छ । आयोजना सम्पन्न भएपछि यसले करिब १२ हजार हेक्टर जमिनमा सिचाई सुबिधा पुग्ने छ । तर १३ बर्षमा पनि करिब ७७ हेक्टर जमिन मात्र अधिग्रहण भएका प्रमुख बमले बताए ।
महाकाली सन्धिको धारा २.२ मा नेपालले टनकपुर बाँधबाट नहरमार्फत् पानी पाउने बन्दोबस्त गरिएको छ । सन्धि अनुसार नेपालले वर्षायाममा एक हजार क्यूसेक तथा हिँउदयाममा ३०० क्यूसेक पानी पाउँने व्यवस्था छ ।