१० महिनामा सरकारको बजेट खर्च करिब ५६ प्रतिशत
काठमाडौं, २ जेठ । चालू आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च करिब ५६ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्यांकमा समग्र बजेट खर्च ५५.९३ प्रतिशत रहेको उल्लेख छ ।
चालू आर्थिक वर्षको अब २ महिना मात्र बाँकी छ । यस अवधिसम्ममा विकास लक्षित पूँजीगत खर्च भने निराशाजनक देखिएको छ । राजनीतिक उतारचढाव, कोरोना महामारी, बजेट अख्तियारीमा ढिलाइ लगायत कारणले विकास बजेट खर्चको कार्यान्वयन सुस्त देखिएको सरोकारवालाहरू बताउँछन् ।
महालेखाको तथ्यांक अनुसार १० महिनामा पूँजीगत बजेट एक तिहाइ मात्र खर्च हुन सकेको छ । हाल बढ्दो रूपमा रहेको कोभिड महामारी र यसको नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले आगामी दिनमा पनि विकास बजेट कार्यान्वयन चुनौतीपूर्ण देखिएको छ ।
सोही अवधिमा चालू खर्च भने ६६ प्रतिशतभन्दा बढी रहेको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४० प्रतिशत हाराहारीमा खर्च भएको छ ।
चालू आर्थिक वर्षमा सरकारले कुल बजेट १४ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेकोमा चालूतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड, पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।