निषेधाज्ञाको प्रभावले बन्द हुन थाले उद्योगधन्दा
विराटनगर, १४ जेठ । कोभिड संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाले पूर्वका उद्योग व्यवसाय प्रभावित भएका छन् । करिब ४ सातायता जारी निषेधाज्ञाको कारण विशेषगरी सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू बन्द हुन थालेका हुन् । सञ्चालनमा रहेका उद्योगको पनि उत्पादन आधा घटेको उद्योगी व्यवसायीले बताएका छन् ।
कोरोना संक्रमण र निषेधाज्ञाकै कारण उक्त कोरिडोरका ४० प्रतिशत उद्योग बन्द रहेको र सञ्चालित उद्योगको पनि नियमित उत्पादन ६० प्रतिशत क्षमतामा मात्र भइरहेको व्यवसायीको भनाइ छ । उनीहरूका अनुसार अत्यावश्यक वस्तुको उत्पादन गर्ने उद्योगले पनि ८० प्रतिशत क्षमतामा उत्पादन गरिरहेका छन् ।
सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगले आफ्नो उत्पादन ५० प्रतिशतभन्दा कममा सीमित गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको भनाइ छ । मुख्यतः अक्सिजन प्रयोग भएर चल्ने उद्योग बन्द रहेको र अन्य उद्योग समेत बन्द हुने अवस्थामा पुगेको उनले बताए । उनका अनुसार कोरिडोरका औषधि, खाद्यान्न, अक्सिजनलगायत ५० उद्योग सामान्य रूपमै सञ्चालित छन् । उक्त औद्योगिक कोरिडोरमा साना–ठूला गरी ५०० उद्योग रहेका छन् ।
दैनिक उपभोग्यबाहेकका वस्तुको उत्पादन घटेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । उनका अनुसार बजार बन्द भएको कारण अन्य वस्तुको खपत घटेको छ । उद्योगले ६० देखि ७० प्रतिशत उत्पादन कटौती गरेको उनको भनाइ छ । यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले कोरिडोरका ५० प्रतिशतभन्दा कम उद्योग सञ्चालनमा रहेको बताए ।
यसैबचि, कोभिड संक्रमण र निषेधाज्ञाको प्रभावले माग घटेपछि मोरङमा सञ्चालित उद्योगको खाद्य उत्पादनको विक्री ७५ प्रतिशतसम्म खुम्चिएको छ । जिल्लाका केही चाउचाउ र बिस्कुट उद्योगले बजारबाट माग नआएपछि आफ्नो उत्पादन बन्द गरेका छन् ।
बजार र यातायात समेत बन्द भएकाले उत्पादित वस्तु उपभोक्तासम्म पुग्न नसकेको र कोभिड संक्रमणको जोखिमका कारण उपभोक्ताहरू किनमेलका लागि पसलसम्म नआएकाले दैनिक उपभोग्य वस्तुको विक्री घटेको व्यवसायीको भनाइ छ ।