चुलियो व्यापार घाटा, १० महिनामै नाघ्यो ११ खर्ब ४५ अर्ब
काठमाडौं, ३१ जेठ । कोभिड महामारीकै बीच वैदशिक व्यापार (आयात निर्यात)मा उत्साहजनक वृद्धि देखिए तापनि यससँगै मुलुकको व्यापार घाटा पनि तीव्ररूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आवको १० महिनाका तथ्यांकले कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु.११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको देखाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.० प्रतिशत रहेको थियो ।
चालू आवको १० महिनामा निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१०८ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको
छ ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।
सोही अवधिमा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भई रु.१२५४ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।