विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु तथा सेवाको आयात धान्ने
काठमाडौं, १ असार । मुलुकको बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाभन्दा बढी समयको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा चालू आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा कुल विदेशी विनिमय सञ्चितिले वस्तुको मात्र आयात भने ११.४ महिनाको धान्ने उल्लेख छ ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले कमी आई २०७८ बैशाख मसान्तमा १३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । अमेरिकीडलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७८ बैशाख मसान्तमा ०.५ प्रतिशतले कमी आई १२ खर्ब १९ अर्ब ८१ करोड कायम भएको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७८ वैशाख मसान्तमा २.७ प्रतिशतले कमी आई १७ खर्ब १ अर्ब ३ करोड कायम भएको छ ।
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३२.६ प्रतिशत, ८५.९ प्रतिशत र २८.५ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।