दोब्बरले बढ्यो चालू खाता घाटा, शोधनान्तर बचत खुम्चियो
काठमाडौं, १ असार । चालू आर्थिक वर्षको पहिलो १० महिनामा सरकारको चालू खाता घाटा बढेर गत आवको सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ भने शोधानान्तर बचतमा समेत ह्रास आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।
तथ्यांक अनुसार समीक्षा अवधिमा चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा यो ९६ अर्ब १८ करोडले घाटामा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।
यसैगरी चालू आवको वैशाख मसान्तसम्ममा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ अर्ब २० अर्ब ९० करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।
केन्द्रीय बैंकका अनुसार उक्त अवधिमा पूँजीगत ट्रान्सफर ११.५ प्रतिशतले वृद्धि भई १३ अर्ब ९२ करोड पुगेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी १९.२ प्रतिशतले कमी आई १४ अर्ब ८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ४२ करोड रहेको थियो ।