व्यवसायीमाथि भएको आक्रमण र लुटपाटले व्यवसायी त्रसित : महासंघ

काठमाडौं, ४ असार । व्यवसायीमाथि आक्रमण तथा लुटपाटका घटना बढ्दै गएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुरक्षाको प्रत्याभुति दिन माग गरेको छ । व्यवसायीमाथि आक्रमण र लुटपाट बढ्दै जानुले मुलुकको शान्ति सुरक्षाको अवस्थाप्रति नै गंभिर चुनौति खडा गरेको महासंघको बुझाई छ ।
करिब एक महिना अगाडि ब्यवसायीको ज्यानै जानेगरी सिराहामा भएको सुनचाँदी ब्यवासयीको हत्या र लुटपाटको घटना सेलाउन नपाउँदै पुनः महोत्तरी जिल्लाको सम्सी गाउँपालिका वडा नं १ मा त्यस्तै प्रकृतिको अर्को घटना दोहोरिएको छ । लुटेरा समूहले राजिप ज्वेलर्सका सञ्चालक विरेन्द्र साहलाई बुधबार राति करिव १२ बजेको समयमा गोली हानी गंभिर घाइते वनाउनुका साथै परिवारका अन्य सदस्यलाई समेत रड तथा खुकुरी प्रहार गरी खस्त घाइते वनाएका छन् । सञ्चालक साह तथा परिवारका अन्य सदस्यहरुलाई घाइते बनाएपछि उनीहरुले पसल तथा घरमा रहेका सुन तथा चाँदी र गरगहना समेत लुटेर लगेको बताइएको छ ।
ब्यवसायी माथि यसरी एकपछि अर्को गरी हमला तथा लुटपाट गरिन थालेको घटनाले समग्र सुनचाँदी ब्यवसायीलाई हतोत्साही र चिन्तित बनाएको बताइएको छ । यस्ता क्रियाकलापले ब्यवसाय सञ्चालन गर्ने मनोवल नै खस्किएको महासंघले जनाएको छ । यस्ता घटनाले आम सुनचाँदी ब्यवसायीमात्र नभई समग्र उद्यमी ब्यवसायी र पेशाकर्मीलाई नै चिन्तित तुल्याएको जनाइएको छ ।
यस्तो घटनाको बिषयमा सरकार एवं सुरक्षा निकायको गंभिररुपमा ध्यानाकर्षण गराउँदै दोषीको अविलम्व पत्ता लगाई कडा भन्दा कडा कारवाही गनुृकासाथै आगामी दिनमा यस्ता घटना हुन नदिन महासंघले जोडदार माग गरेको छ ।