‘राष्ट्रिय जनगणना–२०७८’ शुरू गर्ने तयारी
काठमाडौं, १२ असार कोराना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना२०७८’का गतिविधि पुनः शुरू गर्ने तयारी थालिएको छ । यस सम्बन्धमा निर्णय गर्न राष्ट्रिय जनगणना निर्देशक समितिको बैठक आगामी आइतवार बस्ने भएको छ । गत वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले बढ्दो कारोना संक्रमणका कारण असहज परिस्थिति निर्माण भएको भन्दै जनगणनाका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो ।
पछिल्ला दिनमा कोरोना संक्रमणदर केही नियन्त्रणमा आएसँगै जनगणनाका बाँकी कामलाई निरन्तरता दिने उद्देश्यले तथ्याङ्क विभागले जनगणना निर्देशक समितिको बैठक बोलाएको होे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अध्यक्ष रहने तथा विभिन्न मन्त्रालयका सचिव तथा विश्वविद्यालयका जनसंख्या र तथ्याङ्क विभागका प्रमुख सदस्य रहनेगरी निर्देशक समिति गठन गरीएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले साउनको अन्तिम सातादेखि तथ्याङ्क लिन कार्यक्षेत्रमा पठाउनेगरी प्रस्ताव निर्देशक समितिको बैठकमा लैजान लागिएको जानकारी दिएको राससमा उल्लेख छ । आगामी साउन अन्तिम सातादेखि शुरू गरी असोजको पहिलो सातामा सक्ने गरी कार्यतालिका बनाइएकोे उनको भनाइ छ । निर्देशक समितिले प्रस्ताव स्वीकृत गरेमा सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा जानेछ ।
कार्यालय स्थापनाको काम सम्पन्न गरी सामग्री व्यवस्थापन अन्तर्गत प्रश्नावली, निर्देशिका, कापी, कलम, तालिम सामग्रीहरू जिल्ला र प्रदेशका कार्यालयमा पठाइसकिएको विभागले बताएको छ ।
कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राख्दै विभागले जनगणनामा खटिएर घरघरमा आउने सबै गणक तथा सुपरीवेक्षकहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड संक्रमणको जोखिम न्यून गर्ने मापदण्ड अनिवार्य पालना गर्नुपर्ने व्यवस्था मिलाएको छ । सुपरीवेक्षक तथा गणकहरूले मास्क तथा फेससिल्ड लगाउने तथा सेनिटाइजरको प्रयोग र भौतिक दूरी कायम गरी अन्तर्वार्ता सञ्चालन गर्नेगरी आवश्यक तालिम र व्यवस्था मिलाइएको विभागले बताएको छ ।