सडक र पुल नबन्दासम्म मेलम्ची आयोजना मर्मत गर्न नसकिने
काठमाडौं, १४ असार । मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले बताएको छ ।
आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच÷छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताए । क्षति भएकामध्ये दुई कंक्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई÷तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उनले बताए ।
कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताए । विभिन्न स्थानमा सडक पूरै भासिएको छ । त्यस्तो ठाउँमा पनि पहिलेको रेखांकनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले बताएको छ ।
यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो । आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न शुरु गरेको थियो । सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले बताएको छ ।(