Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘एक्जिम कोड प्रदान गर्ने कार्यविधि, २०७८’ तयार, यस्तो छ प्राप्त गर्ने प्रक्रिया

‘एक्जिम कोड प्रदान गर्ने कार्यविधि, २०७८’ तयार, यस्तो छ प्राप्त गर्ने प्रक्रिया

काठमाडौं, १४ असार । निकासी वा पैठारी संकेत नम्बर (एक्जिम कोड) प्रदान गर्ने कार्यविधि तयार भएको छ । निकासी वा पैठारी व्यापारलाई सहज, पारदर्शी तथा सुरक्षित बनाई मुलुकको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी अभिलेखलाई व्यवस्थित बनाउने उद्देश्यले भन्सार विभागले उक्त कार्यविधि तयार पारेको हो ।

भन्सार ऐन, २०६४ को दफा ८९ (ख) को प्रयोजनका लागि उक्त ऐनको दफा ९३ को खण्ड (च)ले दिएको अधिकार प्रयोग गरी बनाइएको ‘निकासी वा पैठारी संकेत नम्बर प्रदान गर्ने कार्यविधि, २०७८’ कार्यविधि विभागबाट शुक्रवार स्वीकृत भएको छ । स्वीकृत भएसँगै यो कार्यविधि तुरुन्तै लागू हुने विभागले बताएको छ ।

मालवस्तु निकासी वा पैठारी वा दुवै कारोकार गर्न चाहने योग्य व्यक्तिले भन्सार ऐन, २०६४ को दफा ८९ ख बमोजिम निकासी वा पैठारी सङ्केत नम्बर प्राप्त गर्ने प्रणालीमा अनुसूची–१ बमोजिमको ढाँचामा विवरण प्रविष्टि गरी विद्युतीय माध्यमबाट निवेदन सम्प्रेषण गर्नुपर्नेछ :

(क) निकासी वा पैठारी गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा दर्ता भएको वा वस्तुको प्रत्यक्ष विक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट वस्तुको प्रत्यक्ष विक्री वितरणको लागि इजाजत लिएको, उद्योगको हकमा औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम नेपाल सरकार, उद्योग विभागमा दर्ता भएको वा सम्बन्धित निकायमा दर्ता भई नेपाल सरकार, उद्योग विभागबाट निकासी वा पैठारी सङ्केत नम्बरको लागि सिफारिस प्राप्त गरेको हुनुपर्नेछ ।

यसैगरी चुक्ता पूँजी कम्तीमा दश लाख रुपैया भएको तर निकासी मात्र गर्ने गरी सङ्केत नम्बर लिनेको हकमा यो व्यवस्था लागू हुने छैन । स्थायी लेखा नम्बर प्रमाणपत्र प्राप्त गरेको, मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्नेको हकमा मूल्य अभिवृद्धि कर दर्ता भएको र नेपाल सरकारलाई बुझाउनु पर्ने कुनै राजस्व रकम बक्यौता नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपदफा (१) बमोजिम दिने निवेदनका साथ उपदफा (१) को खण्ड (क) बमोजिमको प्रमाणपत्र र सिफारिसको प्रतिलिपि, (ख) चुक्ता पूँजी कम्तीमा दश लाख रुपैयाँ भएको प्रमाणपत्रको प्रतिलिपि. (ग) स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, (घ) मूल्य अभिवृद्धि कर लाग्ने वस्तु पैठारी गर्नेको हकमा मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्रको प्रतिलिपि, (उ) कर बक्यौता बोकी नरहेको आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयबाट जारी गरिएको करचुक्ताको प्रमाणपत्र (च) ‘क’ वर्गका वाणिज्य बैंकद्वारा जारी गरिएको कम्तीमा एक वर्ष अवधि भएको तीन लाख रुपैयाँको बैंक जमानत, (छ) निवेदकको बैंक खाता रहेको बैङ्कले जारी गरेको अनुसूची–२ बमोजिमको सिफारिसपत्र, (ज) व्यक्ति, प्रोप्राइटर वा निकायको प्रमुखको पछिल्लो छ महिनाभित्र खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो । उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि निकासीको मात्र कारोबार गर्ने गरी सङ्केत नम्बर लिन चाहने व्यक्तिले खण्ड (ख), (च) र (छ) बमोजिमको कागजात र निकासी वा पैठारी विशेष सङ्केत नम्बर पाउने व्यक्तिले खण्ड (ख), (च) र (छ) बमोजिमको कागजात पेश गर्नुपर्ने छैन ।

दफा ७ को उपदफा (१) को खण्ड (क) मा उल्लेखित निकायले तथा ऐनको दफाको उपदफा (२) बमोजिम निकासी वा पैठारी विशेष सङ्केत नम्बर प्राप्त गर्ने व्यक्तिले उपदफा (२) को खण्ड (ङ) बमोजिमको कागजात समेत पेश गर्नुपर्ने छैन । (४) संयुक्त उपकम (जोइन्ट भेन्चर)को रुपमा मूल्य अभिवृद्धि करमा दर्ता भएका व्यक्तिले उपदफा (२) मा उल्लिखित कागजात पेश गरी निकासी वा पैठारी सङ्केत नम्बर लिन सक्ने विभागको कार्यविधिमा भनिएको छ ।

यसैगरी यात्रुले ल्याउन र लैजान पाउने निजी प्रयोगका मालबस्तु सम्बन्धी सूचना बमोजिमका मालबस्तु ल्याउन वा लैजान, एकपटकमा १० हजार रुपैयाँ मूल्यसम्मको मालवस्तु पैठारी गर्न वा दश लाख रुपैयाँ मूल्यसम्मको मालवस्तु निकासी गर्न निकासी वा पैठारी सङ्केत नम्बर आवश्यक पर्ने छैन । तर निकासी वा पैठारी सङ्केत नम्बर लिइसकेको व्यक्तिले जतिसुकै मूल्यको मालवस्तु निकासी वा पैठारी गर्दा अनिवार्य रूपमा निकासी वा पैठारी सङ्केत नम्बर उल्लेख गर्नुपने व्यवस्था कार्यविधिले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x