Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

रसुवा बाढीले जलविद्युत क्षेत्रमा गम्भीर धक्का: इप्पानद्धारा सरकारलाई तत्काल पुनर्निर्माणको आग्रह

रसुवा बाढीले जलविद्युत क्षेत्रमा गम्भीर धक्का: इप्पानद्धारा सरकारलाई तत्काल पुनर्निर्माणको आग्रह

काठमाडाैं, २६ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानले गत मंगलबार बिहान तिब्बतबाट ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त जलविद्युत पूर्वाधारको तत्काल पुनर्निर्माणका लागि नेपाल सरकारसँग विशेष व्यवस्था मिलाउन आग्रह गरेको छ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै इप्पान ले बाढीले पुर्याएको क्षतिको पुनर्निर्माणका लागि आवश्यक नीतिगत र प्रक्रियागत सहजीकरण सुनिश्चित गर्न, विद्युत उत्पादन तथा प्रसारण पुनः सञ्चालन गर्न, र भविष्यमा हुन सक्ने थप क्षतिलाई रोक्नका लागि आवश्यक उपायहरू कार्यान्वयन गर्न सरकारलाई आह्वान गरेको छ।

यस विपद्का कारण रसुवा र नुवाकोट जिल्लामा निर्माणाधीन आयोजनाहरू सहित १० भन्दा बढी जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको बताइएको छ। इप्पानका अनुसार, बाढीको प्रकोपसँगै कुल करिब २५० मेगावाट क्षमताका जलविद्युत आयोजनाहरूको उत्पादन पूर्ण रूपमा बन्द भएको छ भने कुल ३५० मेगावाटभन्दा बढी क्षमताका निर्माणाधीन आयोजनाहरूको काम पनि रोकिएको छ।

इप्पान का अध्यक्ष गणेश कार्कीका अनुसार, उत्पादन बन्द भएका प्रमुख आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, ६० मेगावाटको त्रिशूली-३ए, २५ मेगावाटको त्रिशूली जलविद्युत केन्द्र, २२ मेगावाटको चिलिमे जलविद्युत आयोजना, १४ मेगावाटको अपर मैलुङ, १४ मेगावाटको देवीघाट जलविद्युत आयोजना, र ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजना रहेका छन्।

यसैगरी, विपद्का कारण निर्माण कार्य रोकिएका महत्वपूर्ण आयोजनाहरूमा २१६ मेगावाटको अपर त्रिशूली-१, १०० मेगावाटको सुपर त्रिशूली, र ३७ मेगावाटको त्रिशूली-३बी जलविद्युत आयोजना लगायतका परियोजनाहरू समावेश छन्। इप्पान ले यस गम्भीर अवस्थालाई सम्बोधन गर्न र ऊर्जा क्षेत्रमा थप क्षति हुनबाट रोक्न सरकारको तत्काल ध्यान र सहयोगको अपेक्षा गरेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *