अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत दिने १५ लाख डोज खोप सोमवार बिहान आइपुग्ने
काठमाडौं, २७ असार । अमेरिकी सरकारले नेपाललाई प्रदान कोभ्याक्समार्फत दिने कोरोना विरुद्धको १५ लाख डोज खोप सोमवार आइपुग्ने भएको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोपसहितको विमान ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतवार नेपालका लागि प्रस्थान गर्ने र सोमवार बिहान आइपुग्ने कार्यतालिका रहेको राससले उल्लेख गरेको छ ।
उक्त खोप एक मात्रा लगाए पुग्ने उक्त कोरोनाविरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको ठूलो सहयोग भएको अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले बताएका छन् । महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महŒवपूर्ण भएको उनको भनाइ छ ।
राजदूत खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेषित गर्नुभएको पत्रको प्रत्युत्तरमा अमेरिकी राष्ट्रपति जो वाइडेनले नेपाललाई अधिकतम सहयोग गर्ने बताएको जानकारी दिएका छन् । हालै सम्पन्न जी–७ को बैठकले विश्वव्यापीरूपमा खोप वितरणलाई उच्च प्राथमिकतामा राखिने निर्णय गरेको थियो ।
अमेरिकाका संघीय सरकारका जनप्रतिनिधिमार्फत नेपाललाई खोप उपलब्ध गराउनका लागि समन्वय गर्दै आएका मेरिल्याण्ड जनरल एसेम्बलीका विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारले नेपाललाई हरेक सहयोगमा प्राथमिकतामा राख्दै आएको बताए ।
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको भए पनि खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन् ।