अर्थमन्त्री शर्मा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
काठमाडौं, १२ साउन । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरीबीच शिष्टाचार भेटबार्ता भएको छ । मंगलवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले भूकम्पपछिको उद्धार र कोभिड महामारीको समयमा प्राप्त भएको अमेरिकी सहयोग अविश्मरणीय रहेको भन्दै सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए ।
मन्त्री शर्माले कोभिड विरुद्धको खोप नेपालको पहिलो प्राथमिकताको विषय भएको भन्दै त्यसको आपूर्तिमा अमेरिकी सरकारबाट थप सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । उनले अमेरिकी सरकारको सहयोगमा नेपालमा संचालित परियोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी तदारुकता दिन सरकारले ध्यान पु¥याउने प्रतिवद्धतासमेत व्यक्त गरे ।
भेटको क्रममा राजदूत बेरीले कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा रहेको बताए । विगत ७० वर्षदेखि अमेरिकाले नेपालको स्वास्थ्य र शिक्षाको क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए । कोभिड विरुद्धको खोप अभियानमा सघाउन अमेरिकाले १५ लाख डोज खोप प्रदान गरेको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्नेतर्फ सकारात्मक रहेको राजदूत बेरीले जानकारी दिए ।