Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव बैशाख दोस्रो साता

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव बैशाख दोस्रो साता

काठमाडौं, १८ चैत । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी वैशाख दोस्रो सातादेखि राजधानीमा ‘नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ आयोजना हुने भएको छ । वैशाख १४ देखि १८ गतेसम्म प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले आइतबार राजधानीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिने महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको उनले बताए ।

गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ । २५० वटा स्टलको व्यवस्था हुने र पाँच दिनसम्म चल्ने प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको कारोवार हुने प्रक्षेपण महासंघले गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x