राष्ट्रिय वाणिज्य बैंककको खुद मुनाफा ३ अर्ब ७९ करोड
काठमाडौं, ३० साउन । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आ.व. २०७७÷७८ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू प्रकाशित गरेको छ । बैंक यस अवधिमा रु. ३ अर्ब ७९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आ.व. को सोही अवधिमा बैंकको खुद मुनाफा ४ अर्ब ३७ करोड रुपैंया रहेको थियो ।
यस अवधिमा बैंकले कोभिड–१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिएको, बैंंकको कर्जा सापटको ब्याजदर उल्लेखनीय रुपमा घटाएको र निक्षेप तर्फ आकर्षक व्याज प्रदान गरिएको कारण खुद व्याज आम्दानीमा कमी आएकोले खुद मुनाफा घट्न गएको छ ।
आ.व. २०७७÷७८ को बैंकको खुद ब्याज आम्दानी रु. ८ अर्ब २४ करोड (गत वर्ष रु. ९ अर्ब ४५ करोड), कुल संचालन आम्दानी रु. ९ अर्ब ७६ करोड (गत वर्ष रु. १० अर्ब ७० करोड), संचालन नाफा रु. ५ अर्ब ९ करोड (गत वर्ष रु. ५ अर्ब ९४ करोड), कूल समग्र आम्दानी रु. ६ अर्ब ३७ करोड (गत वर्ष रु. २ अर्ब ४८ करोड) तथा वितरणयोग्य मुनाफा रु. ४ अर्ब ५२ करोड (गत वर्ष रु.४४ करोड ७७ लाख) रहेको छ । यस अवधिमा बैंंकको खुद नाफामा कमी आएको भएतापनि बैंंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण समग्र आम्दानी तथा वैधानिक जगेडा कोषबाट रकम ट्रान्सफर भएकोले वितरण योग्य मुनाफामा उल्लेखनीय वृद्धि भएको छ ।
२०७८ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप रु.२ खर्ब ६४ अर्ब र खुद कर्जा तथा सापट रु. १ खर्ब ९४ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही मितिको तुलनामा बैंकको निक्षेपमा १४.३७ प्रतिशत र कर्जा तथा सापटमा २५ प्रतिशतले वृद्धि भएको छ । आ.व. २०७७÷७८ मा बैैंंकको शेयरधनी कोष रु. ७ अर्ब १५ करोडले वृद्धि भई रु. ३० अर्ब १८ करोड र कुल सम्पत्ति रु.४४ अर्ब रुपैंयाले वृद्धि भई रु. ३ खर्ब १० अर्ब पुगेको छ ।
२०७८ आषाढ मसान्तसम्ममा पुँजी कोष अनुपात १४.३१ प्रतिशत, कर्जा तथा निक्षेप र पुंजी अनुपात ६६.८१ प्रतिशत, आधार दर ५.४१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३.०७ प्रतिशत, व्याजदर अन्तर ४.३७ प्रतिशत, कोषको लागत दर ३.२४ प्रतिशत तथा प्रतिशेयर आम्दानी रु.४१.३२ रहेको छ ।
आ.व.२०७७÷७८ को चौथो त्रैमाससम्मको समिक्षा अवधिमा बैंकले खुद मुनाफा, वितरणयोग्य नाफा, कर्जा, निक्षेप, शेयरधनी कोष, कर्जाको गुणस्तर लगायत समग्र व्यावसायिक नतिजाहरुमा उत्साहजनक प्रगति हासिल गर्न सफल भएको छ भने नेपाल राष्ट्र बैंकले निर्धारण गरेको सूचकाङ्कहरु परिपालना गर्न तथा प्रमुख परिसूचकहरुमा सुविधाजनक स्थिति कायम गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।