धितोपत्र बजारमा जनसंख्याको १२ प्रतिशत लगानीकर्ता
काठमाडौं, ३२ साउन । मुलुकको धितोपत्र बजारमा कुल जनसंख्याको १२ प्रतिशतको पहुँच पुगेको छ । प्रतिनिधिसभा अर्थ समितिको आइतवारको बैठकमा नेपाल बोर्डका कार्यकारी प्रमुख भीष्मराज ढुंगानाले उक्त जानकारी दिएका हुन् ।
१५औं योजनाको पूँजी बजारसम्बन्धी परिमाणात्मक लक्ष्य धितोपत्रमा लगानीकर्ताको संख्या बढाई कुल जनसंख्याको २० प्रतिशत पु¥याउने रहेकोमा आर्थिक वर्ष २०७७÷७८ को अन्त्यसम्ममा १२ प्रतिशत पुगेकाले सहजरूपमा लक्ष्य हासिल दाबी गरिएको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक एउटै निष्कासनमा करिब २४ लाखले आवेदन दिई खरिद गरेको तथ्यांक प्रस्तुत गरिएको छ ।
यसैगरी सो अवधिमा डिम्याट खाता संख्या शत प्रतिशतभन्दा बढी वृद्धि भई ३७ लाख नाघेको भने मेरो सेयरको संख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ । गत आवमा १४ अर्ब १५ करोड पूँजीगत लाभकरबापत सरकारलाई राजस्वमा योगदान दिन सफल भएको अध्यक्ष ढुंगानाले बताए ।
२०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि ३५ हजारभन्दा बढीले युजर आईडी लिएकोमा समीक्षा अवधिमा उक्त संख्यामा २२ गुणाभन्दा बढीले वृद्धि भई ७ लाख ९५ हजार पुगेको छ ।
समग्रमा ८ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय रहेको तथा पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डले बताएको छ । गतवर्ष प्राथमिक बजारमार्फत १०८ अर्ब २२ करोड रुपैयाँ बराबरको धितापत्र निष्कासनका लागि बोर्डले अनुमति दिएको छ । नेपाली शेयर बजार पूँजीकरणतर्फ ४४ खर्ब ३७ अर्ब पुगेर नयाँ उचाइ कायम भएको छ ।