चार वर्षमा मुलुकको निर्यात व्यापार ७ अर्ब डलर पुर्याउने लक्ष्य
काठमाडौं, ४ भदौ । निर्यात व्यवसायी महासंघ नेपालले सन् २०२५ को अन्त्यसम्ममा नेपालको निर्यात व्यापारको आकार ७ अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको छ । महासंघले नेपालको निर्यात व्यापारको आकार आगामी तीन वर्षमा १ अर्ब अमेरिकी डलरबाट २ अर्ब अमेरिकी डलर पु¥याउने र सन् २०२५ को अन्त्यसम्म ७ अर्ब अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको हो ।
नेपालको निर्यात व्यवसायलाई अभिवृद्धि गरी व्यापार घाटा कम गर्न महासंघले गत साउन २७ गतेदेखि साउन २९ गतेसम्म ४० देशका कूटनीतिक नियोगका प्रतिनिधिसँग भर्चुअल माध्यमबाट गरेको अन्तरक्र्रियामा समृद्ध मुलुक निर्माणका लागि निर्यातलाई जोड दिनुपर्ने निष्कर्ष निकालेको छ ।
कूटनीतिक नियोगका प्रतिनिधिसँगको छलफलपछि बिहीवार पत्रकार सम्मेलन गर्दै महासंघले कुन देशमा कुन वस्तुको आवश्यकता छ भन्नेबारे कूटनीतिक नियोगले छलफल गरेर एक महिनाभित्र महासंघलाई राय सुझाव दिने बताएको छ ।
सो अवसरमा महासंघका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले नेपालको व्यापार घाटालाई कम गरी निर्यातमा जोड दिन महासंघले कूटनीतिक नियोगसँग छलफल अगाडि बढाएको बताए । हाल नेपालबाट १२० भन्दा बढी मुलुकमा ९५० भन्दा बढी उत्पादित सामग्री निर्यात हुँदै आएको छ । समृद्ध मुलुक निर्माणका लागि औद्योगिक क्षेत्रको निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।
नेपालबाट विशेषगरी विदेशमा कार्पेट, तयारी पोसाक, पश्मिना, फेल्टलगायत सामग्री विक्री वितरण हुँदै आएका छन् ।
नेपालमा उत्पादित वस्तुमध्ये सबैभन्दा धेरै वस्तु भारतमा निर्यात हुँदै आएको छ । त्यसपछि दोस्रो निर्यात हुने मुलुक अमेरिका हो । निर्यात गर्ने १२ वटा वस्तुगत संघ र निर्यातकर्ताको सहकार्यमा विसं २०७६ माघमा स्थापना भएको महासंघमा हाल २२ वस्तुगत संघ आबद्ध भइसकेका छन् ।