‘नेपाली होटलहरुको संरचना अपाङ्गमैत्री छैनन्’
काठमाडौं, १० भदौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गतामैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवर्द्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्नसक्ने देखाएको छ। सबैका लागि खुलाः नेपालका होटेलमा अपाङ्गता भएका व्यक्तिको पहुँचसम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्नसके देशको अर्थतन्त्र उकासिने बताएको हो।
यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो। आईएफसीले उक्त अध्ययनका लागि देशको मुख्य–मुख्य सहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी–व्यवसायीलाई समावेश गरेको बताएको छ। जसअनुसार अध्ययनमा सहभागी भएका ९५ प्रतिशत होटल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणाबारे आफूहरु जानकार रहे पनि त्यस किसिमका पूर्वाधार निर्माणगरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिक्रिया दिएका थिए।
आईएफसीको अध्ययनले अहिले सञ्चालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिको आवतजावतका लागि लिफ्ट र भिराला र्याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहीन पाहुनाको सहयोगका लागि सङ्केत चिह्न राखेको देखाएको छ। बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा सङ्केत चिह्नको प्रयोग गरेका छैनन्। अध्ययनले नौ प्रतिशत होटलका कर्मचारी पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमता भएका पाहुनाबारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्गता भएका अतिथिका लागि अतिरिक्त ह्लिचियरको व्यवस्था रहेको देखाएको छ।