Date

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

बैंकिङ प्रणालीमा पुनः तरलता अभाव हुँदै

बैंकिङ प्रणालीमा पुनः तरलता अभाव हुँदै

काठमाडौं, २७ भदौ । नेपालको बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या पुनः शुरू भएको छ । हाल प्रणालीमा करिब २३ अर्ब रुपैयाँ मात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए । यो बैंक तथा वित्तीय संस्थाले आफूसँग राख्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो । साउनमा प्रणालीमा ३७ अर्ब रुपैयाँभन्दा बढी तरलता थियो । भदौ महिनाको तेस्रो सातासम्म बैंकहरुले १ खर्ब २३ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गर्न सकेकोमा १ खर्ब १३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

विगतका वर्षहरुमा साउन र भदौमा कर्जाको माग न्यून हुने गरेको थियो । तर यसपटक सुरुमै तरलता सरकारी खर्च नहुँदा, आयात बढ्नुका साथै कर्जाको माग समेत बढेकाले तरलता अभाव देखिएको हो । त्यसको प्रत्यक्ष असर व्याजदरमा पर्ने देखिन्छ । सरकारी खर्च नबढेको अवस्थामा आगामी महिनादेखि ब्याजदर बढाउने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या हरेक वर्ष दोहोरिने गर्छ । यसको दीर्घकालिन समाधान खोज्नुपर्नेमा जानकारहरूले जोड दिएका छन् । त्यसका लागि अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउनुका साथै बाह्य स्रोत आकर्षित गर्नुपर्ने पूर्व बैंकर अनलराज भट्टराईको सुझाव छ ।तरलता अभाव हुन थालेपछि बैंकहरुले अन्तरबैंक र रिपो मार्फत समेत थप अल्पकालिन सापटी लिइरहेका छन् । अहिलेको तरलता समस्याबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको भन्दै राष्ट्र बैंकले विभिन्न माध्यमबाट तरलता व्यवस्थापन गर्ने जनाएको छ । राष्ट्र बैंकले रिपो, रिभर्स रिपो, आउटराइट पर्चेज र आउटराइट सेल्स मार्फत बजारमा तरलता व्यवस्थापन गर्ने प्रवक्ता ढकालले बताए ।

कोरोनाले शिथिल बनेको मुलुकको अर्थतन्त्र विस्तारै चलायमान बन्दै गएसँगै मुलुकको आयात र बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह सामान्य अवस्थामा जस्तै बढिरहेको छ । विकासशिल मुलुक नेपालमा आगामी दिनमा कर्जाको माग अझै बढ्दै जाने निश्चित छ । त्यसकारण राष्ट्र बैंकले चरलता व्यवस्थापनका लागि नीतिगत सहजता प्रदान गर्नुपर्ने सुझाव छ । त्यसका लागि सीडी रेसियोलाई पनि हटाएर बैंकहरुको तरल पूँजी व्यवस्थापन नीति लिनुपर्ने पूर्व बैंकर भट्टराईले बताए ।

हालसम्म बैंक तथा वित्तीय संस्थाहरुले ४६ खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४३ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *