कोभिडका कारण ३३ प्रतिशतले घट्यो वैदेशिक रोजगार बीमा
काठमाडौं, २८ भदौ । कोभिड महामारीका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित हुँदा वैदेशिक रोजगारमा जानेहरूको बीमामा करीब ३३ प्रतिशतले ह्रास आएको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको साउनमा वैदेशिक रोजगारमा जारी भएको बीमालेख ३२.९० प्रतिशतले घटेको छ ।
साउन मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख ५ लाख ७७ हजार ४१० वटा जारी भएका छन् । गतवर्षको सोही अवधिमा यस्तो बीमालेख ८ लाख ६० हजार ५१९ वटा जारी भएका थिए ।
समितिका अनुसार सो अवधिमा जनसंख्याको २६.८९ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । साउन मसान्तसम्ममा जीवन बीमालेख ८० लाख ९ हजार ६३४ वटा जारी भएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४३ प्रतिशत बढी हो ।
सो अवधिमा जीवन कम्पनीहरूले जीवन बीमातर्फ १ खर्ब ६६ करोड बीमाशुल्क संकलन गरेका छन्, जुन गतवर्षको यसै अवधिको भन्दा २७.३८ प्रतिशतले बढी हो ।
यस्तै निर्जीवन बीमा कम्पनीले २ लाख ४१ हजार ८३७ वटा बीमालेख जारी गरेका छन् । यो गतवर्षको साउन मसान्तको भन्दा ०.१७ प्रतिशत धेरै हो । सो अवधिमा कम्पनीहरूले बीमाशुल्कबापत २९ अर्ब ९ करोड संकलन गरेका छन् ।