Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

चुलिँदै व्यापार घाटा, एक महिनामै पुग्यो १ खर्ब ३० अर्ब

चुलिँदै व्यापार घाटा, एक महिनामै पुग्यो १ खर्ब ३० अर्ब

काठमाडौं, ८ असोज । चालू आर्थिक वर्षको पहिलो महिनामा कुल वस्तु व्यापार घाटामा ७०.६ प्रतिशतले बढेको छ । यससँगै मुलुकको व्यापार घाटा १ खर्ब २९ अर्ब ९७ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा व्यापार घाटामा २२.२ प्रतिशतले कमी आएको थियो । चालू आवको पहिलो महिनामा कुल वस्तु निर्यात ११६ प्रतिशतले वृद्धि भई २० अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८.९ प्रतिशतले वृद्धि भएको थियो ।

केन्द्रीय बैंकका अनुसार गन्तव्यका आधारमा भारत, चीन तथा अन्य मुलुकतर्पm क्रमशः १६७.० प्रतिशत, ४७.८ प्रतिशत र १७.५ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा सोयाविन तेल, पाम तेल, धागो (पोलिष्टर तथा अन्य), जुस, पिना लगायतका वस्तुको निर्यात बढेको छ । यस्तै अलैंची, आयुर्वेदिक औषधि, जडीबुटी, तार, तयारी छालाका समानलगायत वस्तुको निर्यात घटेको छ ।

चालू आवको पहिलो महिनामा कूल वस्तु आयात ७५.७ प्रतिशतले वृद्धि भई १ खर्ब ५० अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १९.६ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५८.७ प्रतिशत, ८७.६ प्रतिशत र १२०.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, सुनलगायत वस्तुको आयात बढेको छ भने रासायनिक मल, सिमेन्ट, सुर्ती, हवाईजहाजका पार्टपुर्जा, तयारी पोशाकलगायत वस्तुको आयात घटेको छ ।

सो अवधिमा कञ्चनपुर, मेची र नेपालगञ्ज भन्सार कार्यालयबाहेक नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । कैलाली भन्सार कार्यालयबाहेक नाकाबाट भएको आयात वृद्धि भएको छ । गत साउनमा निर्यात–आयात अनुपात १३.८ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x