नन ट्यारिफ व्यवसायको न्युनतम दर निर्धारण, दर भन्दा कममा बीमा गराए कारबाही
काठमाडौं, ८ असोज । बीमा समितिले नन ट्यारिफ व्यवसायको न्युनतम दर निर्धाण गरिदिएको छ। दशकौदेखि एउटै रेटमा बीमा गर्दा पुनर्बीमा कम्पनीहरुसँग पुनर्बीमा गराउन समस्या हुनुका साथै दाबी भुक्तानीमा समेत समस्या आउने गरेको गुनासो ब्याप्त थियो । समितिले करिव ३६ वटा पोलिसीको न्युनतम दर निर्धारण गरिदिएको छ । अब कम्पनीहरुले सोही रेटमा रहेर बीमा गराउने अध्यक्ष सूर्य प्रसाद सिलवालले जानकारी दिए ।
हाइड्रोपावर, आवासिय तथा व्यवसायिक भवन अफिस, स्कुल, विश्वविद्यालय, होटल, रेष्टुरेन्ट, हस्पिटल, एयरपोर्ट भवन लगायतको पनि दर निर्धाण गरिदिएको छ । निर्माण व्यवसायीहरुले औपचारिकताका लागि बीमा गर्दै आएका थिए । यसमा न्युनतम दर नभएकाले कम्पनीहरुले थोरै शुल्क लिएर बीमा पोलिसी बनाइदिने गरेका थिए । जसको कारण भुक्तानीमा समस्या हुँदै आएको उनले बताए ।
बीमा समितिले २०६५ सालमा ट्यारिफ दर निर्धारण गरदिएको थियो । त्यसलाई पनि २०७५ सालमा परिमार्जन गर्दै कतिपय दरलाई घटाइदिएको थियो । एउटाको व्यवसाय अर्कोले खोस्ने क्रममा नन ट्यारिफका विजनेसहरु पुनर्बीमा पनि गर्न नपुग्ने शुल्कमा बीमा भैइरहेको समितिले जनाएको छ। अब भने निर्धारण गरिदिएको न्युनतम दर भन्दा कममा व्यवसाय गराए कारबाही गर्ने चेतावनी समिति दिएको छ।