निर्धारित समयमा सकिएन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सातौंपटक म्याद थप्ने तयारी
काडमाडौं, ११ असोज । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अझै सकिएको छैन । राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा हुन सकेको छैन ।
तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको थियो । तर निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो । छैटौंपटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौंपटक म्याद थप्न पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारीलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।
विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौंपटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख ई. अधिकारीको भनाइ छ । उनका अनुसार विमानस्थलको प्राविधिक काम ९८ प्रतिशत पूरा भएको छ । अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम भइरहेको बताइएको छ ।
विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले बताएको छ ।