विराटनगर भन्सार १ खर्ब ५२ अर्बको व्यापार घाटामा, निकासीतर्फ केही सुधार हुँदै
विराटनगर, १६ असोज । मुलुकको तेस्रो प्रमुख नाकाको रुपमा रहेको विराटनगर भन्सार कार्यालयबाट प्रत्येक वर्ष आयातमा वृद्धि हुँदै गएको छ भने आयातको तुलनामा निर्यात निकै कम रहेको छ । अन्य भन्सारको तुलनामा विराटनगर नाकाको व्यापार घाट कम रहे पनि आर्थिक वर्ष २०७७÷७८ मा १ खर्ब ८९ अर्ब ६५ करोड ६८ लाख १६ हजारको सामान आयात भयो भने सोही आवमा ३६ अर्ब ९० करोड ६७ लाखको निर्यात भयो । यो आवमा १ खर्ब ५२ अर्ब ७५ करोड ८६ हजार व्यापार घाटा रहेको तथ्यांकले देखाएको छ ।
कोरोनाको कारण लक्ष्यभन्दा कम राजस्व संकलन गरिरहेको विराटनगर भन्सार कार्यालयले साउन र भदौमा भने लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । आयातको तुलनामा निर्यात निकै कम भएपनि निर्यातमा भने प्रत्येक वर्ष केही सुधार हुँदै गएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।
निर्यातमुखी अर्थतन्त्र नहुनु र आयातमा निर्भर हुँदा प्रत्येक बर्ष व्यापार घाटाको ग्राफ उकालो लागेको देखिन्छ । तर कोरोनाको प्रभाव बाहेकका आर्थिक वर्षमा भने विराटनगर नाकाबाट निर्यात पनि न्यून मात्रामा बढिरहेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा २९ अर्ब १७ करोड ६७ लाख १८ हजार निर्यात भएको तथ्यांक छ तर आव २०७६÷७७ मा भने कोरोनाको विश्वव्यापी महामारीको कारण निर्यात हुने वस्तुमा समेत त्यसले असर गरेको छ । यो आवमा २८ अर्ब ५१ करोड ३१ लाख २१ हजार रुपैया बराबरको सामग्री निर्यात भएको छ, जुन अघिल्लो आर्थिक वर्ष भन्दा ६६ करोड ३५ लाख ९७ हजार रुपैयाँ कमको वस्तु निकासी भएको हो । तर आव २०७७÷०७८ मा २८ अर्ब ५१ करोड ३१ लाख २१ हजार रुपैया बराबरको सामाग्री निर्यात भएको छ, जुन अघिल्लो आवको तुलनामा ८३ अर्ब ९३ करोड ६० लाख ९ हजारले निर्यात बढेको तथ्यांकले देखाएको छ ।
आर्थिक बर्ष २०७६÷०७७ मा अघिल्लो बर्ष भन्दा ४४ अर्ब ४९ करोड ८० लाख २९ हजार रुपैया बराबरको सामाग्री कम आयात भएको छ तर आव ०७७÷०७८ मा भने अघिल्लो बर्षको तुलनामा ७५ अर्ब ५८ करोड ८५ लाख ६१ हजार रुपैयाँ बढीको सामाग्री आयात भएको देखिन्छ । जुन अघिल्लो बर्षको तुलनामा ७५ अर्ब ५८ करोड ८५ लाख ६१ हजार रुपैयाँ बढी व्यापार घाटा हो ।
विराटनगर भन्सार नाका हुँदै नेपाल आयात हुने प्रमुख १० वस्तुहरूमा भटमासनको कच्चा तेल, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर रड इन क्वाइल, तयारी कपडा, सूर्यमुखी कच्चा तेल, खाद्यान्न मकै, सिआरसीट, खाना पकाउने एलपीग्यास र औद्योगिक मेशिनरी छन् ।
त्यसैगरि नेपालबाट विराटनगर भन्सार नाका हुदै निकासी हुने प्रमुख १० वस्तुमा भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, जुटका बुनिएका कपडा, जुटका बोरा र झोला, कपडा(उनी, सुति, टेरिकटन बाहेक), चाउचाउ, नुडल्स, पास्ता त्यस्तै तेल पेलाई सकेपछि निस्कने पिना, सनपाटको धागो, सूर्यमुखी प्रशोधित तेल र तामाको सिट, चादर र स्ट्रिपले सबैभन्दा बढी निकासी हुने १० बस्तुमा स्थान लिएका छन् ।