नेपालमा कोभिड संक्रमणदर १८.७ प्रतिशत, एक महिनामै घट्यो ६० प्रतिशत
काठमाडौं, २५ असोज । नेपालमा सङ्क्रमण दर १८.७ प्रतिशत र सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत रहेको छ । पछिल्लो एक महिनामै कोरोना भाइरसको सङ्क्रमण ६० प्रतिशतले घटेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्राययका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको जानकारी दिए ।
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो संख्या १५ हजार ९४२ पुगेको छ । उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए ।
नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कुल जनसंख्याको ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा. पौडेलले जानकारी दिए । यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ ।