शेयर बजारमा चमक, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
काठमाडौं, ९ कात्तिक । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकममा पनि उलेख्य वृद्धि भएको छ । गत २ महिनादेखि गतसातासम्म लगातार घटेको बजार यो साताको पहिलो दिनदेखि नै उकालो लागेको हो । आज नेप्से परिसूचक ७८.८२ अंकले वृद्धि भएर २७५१.०७ विन्दुमा रोकिएको हो । गत कारोबारको तुलनामा बजार २.९५ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै आज कारोबार रकम पनि सुधार देखिएको छ । गत दिनसम्म ३ देखि साढे ३ अर्बको कारोबार भइरहेकोमा आज भने ६ अर्ब ३१ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यो कारोबार रकम गत कारोबार रकमको तुलनामा २ अर्बभन्दा बढी हो । गत कारोबार दिन ४ अर्ब ३० करोड रुपैयाँको शेयर कारोबार भएको थियो ।
आज २२७ धितोपत्रहरुमध्ये २० वटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १० प्रतिशतले मूल्य वृद्धि हुने धितोपत्रहरु ७ वटा रहेका छन् । सर्वाधिक मूल्यको शेयर खरिद विक्री हुने धितोपत्रमा कामना सेवा विकास बैंक लिमिटेड रहेको छ । यो धितोपत्रको ४४ करोड ७४ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा होटल समूह रहेको छ । यो समूहको परिसूचक ७.५१ अंकले वृद्धि भएको छ ।