ऊर्जा बचत कार्य गरे वापत राष्ट्रिय वाणिज्य बैंकद्वारा १३ कम्पनीलाई अनुदान रकम हस्तान्तरण
काठमाडौं, १२ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले १३ वटा कम्पनीलाई ऊर्जा बचत गरेवापत अनुदान रकम हस्तान्तरण गरेको छ । जर्मन सरकारबाट केफेडब्लु बैंकमार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्र्तगत शुक्रबार अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो । १३ वटा कम्पनीलाई अनुदानवापत ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
बैंकले एशियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई एक÷एक करोड रुपैयाँ, नेपाल वायर्स एण्ड केवललाई ६४ लाख ८४ हजार रुपैयाँ, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार रुपैयाँ, पञ्चकन्या मेटल इन्जिनियरिङ्गलाई ४४ लाख १९ हजार रुपैयाँ, एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार रुपैयाँ, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार रुपैयाँ, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार रुपैयाँ, ओहम फर्मम्युट्रीकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार रुपैयाँ, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार रुपैयाँ, हिमालयन नेचुरललाई १७ लाख ४० हजार रुपैयाँ र विजयदिप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलेले चेक रकम हस्तान्तरण गर्दै यो अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने बताउंदै हालसम्म ३० वटा भन्दा बढी उद्योगहरुलाई १६ करोड ३५ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट इस्क्युटिङ एजेन्सीको रुपमा सहायता सम्बन्धी कार्य गर्ने गरेको छ ।
यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु. १ करोड सम्मको अनुदान रकमको सीमा कायम गरिएको छ ।