विद्युत् प्रसारण लाइनको आधुनिकीकरण परियोजनाका लागि एडीबीले ७ अर्ब ८ करोड ऋण उपलब्ध गराउने
काठमाडौं, १० मंसिर । मुलुकको विद्युत् प्रसारण लाइन आधुनिकीकरण परियोजनाका लागि एशियाली विकास बैंक (एडीबी)ले नेपाललाई ६० मिलियन (७ अर्ब ८ करोड रुपैयाँ) ऋण उपलब्ध गराउने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा शुक्रवार अर्थमन्त्रालयमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नोड कोसोले हस्ताक्षर गरेका छन् ।
एडीबीको उक्त वित्तीय सहायताले नेपालको विद्युत् प्रसारण तथा वितरण प्रणाली थप व्यवस्थित र सुदृढ बनाउन थप टेवा पुग्ने बताइएको छ । उक्त रकम प्रसारण एवं वितरण क्षमता अभिवृद्धि गर्ने कार्यमा खर्च गरिनेछ । साथै अन्तर्गत १३२ केभिए नेपालगञ्ज–कोहलपुर र चोभार–लगनखेल १६ किमी प्रसारण लाइन र दुम्किवास, लगनखेल, मूलपानी र नेपालगञ्जमा ४७७ एमभीए क्षमताको सबस्टेशन निर्माण गरिने भएको छ ।