४९.०४ अंकले ओर्लियो शेयर बजार, ३ अर्ब ४१ करोडको कारोबार
काठमाडौं, १६ मंसिर । साताको पाँचौं कारोबार दिन बिहीवार शेयरबजार ४९.०४ अंकले ओरालो लागेको छ । अघिल्लो दिन झीनो अंकले बढेको नेप्से परिसूचक यस दिन १.८६ प्रतिशतले घटेर २५८४.६१ अंकमा बन्द भएको छ ।
बिहीवार २३१ कम्पनीको ७९ लाख ३२ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन सर्वाधिक नाफा कमाउनेमा सामलिङ पावर कम्पनी रहेको छ । कम्पनीको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यसैगरी शेयरमूल्य धेरै घट्नेमा भने कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । बैंकको शेयरमूल्य ६.८० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा भने महालक्ष्मी विकास बैंक रहेको छ । यस बैंकको १२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।