११ महिनामा १ लाख २६ हजारभन्दा बढी पर्यटक आगमन
काठमाडौं, १७ मंसिर । सन् २०२१ को ११ महिनामा एक लाख २६ हजारभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्म एक लाख २६ हजार २८३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।
नोभेम्बर महिनामा हवाई मार्ग भएर २६ हजार १३५ बाह्य पर्यटक नेपाल भित्रिएका छन् । सबैभन्दा बढी भारतबाट १० हजार ४२१, बङ्गलादेशबाट एक हजार ३८२ पर्यटक आएका छन् । उक्त महिना नेपालबाट २६ हजार ४८७ बाह्य पर्यटक बाहिरिएका छन् । अक्टोबर महिनामा २३ हजार २८४ पर्यटक आएका थिए । तुलनात्मक रुपमा पर्यटक आगमनमा झिनो रुपमा सुधार देखिए पनि बाह्य पर्यटकको सङ्ख्या बढ्न सकेको छैन ।
बाह्य पर्यटक आगमनको पछिल्लो दुई महिनाको तथ्याङ्क हेर्दा झिनो रुपमा सुधार भएको छ । यद्यपि, पर्यटकको संख्या भने बढ्न सकेको छैन । यस वर्षको अघिल्लो महिनाको तुलनामा १२ प्रतिशत हाराहारी पर्यटक बढेको छ ।
सन् २०१९ को अक्टोबर र नोभेम्बरलाई तुलना गर्दा पर्यटक आगमनको औसत झण्डै उस्तै छ । उक्त वर्ष अघिल्लो महिनाको तुलनामा १३ प्रतिशत पर्यटक बढेका थिए । सन् २०१९ को अक्टोबरमा एक लाख ३० हजार ७४५ र नोभेम्बर महिनामा एक लाख ४७ हजार ८५९ बाह्य पर्यटक नेपाल आएका थिए ।
यसरी पर्यटक आगमनको औसत हेर्दा सन् २०२१ मा बाह्य पर्यटकको संख्या दुई लाख पुग्न मुस्किल देखिएको छ । अघिल्लो वर्ष सन् २०२० मा दुई लाख ३० हजार ८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए ।