Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ओमिक्रोन त्रास : ९ मुलुकबाट आउने यात्रुलाई प्रवेशमा रोक, वीरगञ्ज नाकामा सतर्कता

ओमिक्रोन त्रास : ९ मुलुकबाट आउने यात्रुलाई प्रवेशमा रोक, वीरगञ्ज नाकामा सतर्कता

काठमाडौं, १७ मंसिर । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो । ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने वा गएको तीन हप्ताभित्र ती मुलुक भ्रमण गरेका यात्रालाई नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकारी दिएको छ ।

केही दिन अघि अफ्रिकी मुलुकमा देखापरेको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन युरोप तथा एशियालगायतका मुलुकमा क्रमिक रूपमा फैलिदै गइरहेको सन्दर्भमा नेपालले पनि समयमै सावधानी अपनाई नयाँ भेरियन्टलाई मुलुकभित्र प्रवेश हुनबाट रोकथाम गर्न यो निर्णय गरेको हो । जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ ।

सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार अरु मुलुकको हकमा ती मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमणका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त मुलुकको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई उपलब्ध गराउने छ । अध्यागमन विभागले सोही आधारमा यात्रा सुझाव जारी गर्नेछ ।

यसैबीच, भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ । भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x