Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थतन्त्र गम्भीर समस्यातर्फ धकेलिँदै छ : पूर्वअर्थमन्त्री डा. खतिवडा (भिडियो सामग्री सहित)

अर्थतन्त्र गम्भीर समस्यातर्फ धकेलिँदै छ : पूर्वअर्थमन्त्री डा. खतिवडा  (भिडियो सामग्री सहित)

काठमाडौं, १६ मंसिर । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्र गम्भीर संकटको दिशातिर उन्मुख हुन थालेको बताएका छन् । सरकारी तथ्यांकले नै पछिल्लो समय विदेशी मुद्राको सञ्चित कमजोर बन्दै गएको, विप्रेषण आप्रवाह खुम्चिएको, डरलाग्दो रूपमा व्यापार घाटा चुलिँदै गएको, शोधनान्तर तथा चालू खाता ठूलो घाटामा रहेको देखाएको भन्दै डा. खतिवडाले यतिबेला बाह्य क्षेत्र समस्याग्रस्त बनेको बताएका छन् ।

‘अर्थको अर्थ’ले गरेको भिडियो संवादमा पूर्वअर्थमन्त्री खतिवडाले अस्वाभाविक रूपमा आयात बढ्दा राजस्व संकलनमा वृद्धि देखिए पनि बैंकिङ प्रणालीमा तरलता अभाव र भुक्तानी असन्तुलनको अवस्थाले त्यसमा खुशी हुने ठाउँ नदिएको टिप्पणी गरेका छन् । ‘अनावश्यक वस्तुको आयात खुला हुँदा व्यापार घाटा चर्किंदै गएको देखिन्छ, राजस्व खर्च नहुँदा सरकारको ढुकुटीमै पैसा थुप्रिएर बसेको छ,’ उनले भने, ‘यो आर्थिक वृद्धिकै लागि चुनौतीको रूपमा देखिन्छ ।’

स्वतन्त्र व्यापार, खुला बजार अर्थतन्त्र भनिए पनि मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा पर्दा औद्योगिक कच्चापदार्थ, पूर्वाधार विकासका सामग्री लगायत अत्यावश्यक वस्तु बाहक आयात निरुत्साहित गरिनुपर्नेमा त्यसो हुन नसकेको उनले बताए । आयात नियमन नभएकै कारण बढी मूल्यका वस्तु न्यूनबीजकीकरण भई आयात हुने गरेको र त्यसका लागि बाहिरको पैसा प्रयोग हुने गरेकाले विप्रेषण घटेको उनको बुझाइ छ । यसले हुन्डीको कारोबारलाई समेत प्रश्रय दिएको उनले बताए ।

मुलुकमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न २० देखि बढी २५ प्रतिशतको कर्जाको विस्तार पर्याप्त रहन सक्ने भए पनि अहिले वार्षिक कर्जा विस्तार ३१ प्रतिशतभन्दा बढी हुँदा समेत आर्थिक स्थितिमा त्यसको प्रभाव नदेखिनुले कर्जा अनावश्यक क्षेत्रमा समेत गएको संकेत गर्ने उनको बुझाइ छ । यसलाई नियमन गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकले समन्वय गर्नुपर्नेमा उनले जोड दिए ।

अमेरिकाका निवर्तमान राजदूत समेत रहेका डा. खतिवडाले एक फरक प्रसंगमा आफ्नो ८ महिने कार्यकालमा कन्सुलर सेवा, कोभिड भ्याक्सिन उपलब्ध गराउने, सेवाग्राहीलाई सहज सेवा सुविधा दिने लगायत काममा उल्लेख्य उपलब्धि भएको बताए । आफ्नो छोटो कार्यकालमा गर्न सकिने जति काम भएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x