कानूनी र प्राविधिक तयारी गरेर विद्युत्को अन्तर्राष्ट्रिय बजार खोज्न सुझाव
काठमाडौं, २७ मंसिर । बिजुलीलाई कच्चा पदार्थका रुपमा मान्दै आन्तरिक रूपमै खपत गर्नुपर्ने र औद्योगिक विकासमा जोड दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । आन्तरिकरूपमा खपत बढाउने र बढी भएको बिजुली बंगलादेश र भारतमा समेत निर्यात गर्नेगरी कानूनी एवं प्राविधिक तयारी गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) र इकोनमिक पोलिसी इन्क्युभेटर (इपिआइ)ले संयुक्तरूपमा आयोजना गरेको ‘नेपालमा विद्युत् व्यापारको सम्भावना र चुनौती विषयक’ अन्तक्र्रियामा सहभागीले व्यापार घाटा घटाउनका लागि पनि बिजुलीको निर्यात जरुरी रहेको औंल्याएका छन् ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिकभन्दा ऊर्जा कूटनीति नै बिजुली निर्यातका लागि अपरिहार्य रहेको बताइन् । अहिलेका अवस्थामा ऊर्जा कूटनीति नै निर्णायक हुने उनको भनाइ छ ।
अहिले छिमेकी देश भारतका लागि राजदूत भएका शंकर शर्मालाई समेत कार्यकाल सफलतामा ऊर्जा कूटनीतिमै भरपर्ने भनेर आफूले जोड दिएको उनले बताइन् । विद्यमान कानूनले नपुगेर नै नयाँ कानून ड्राफ्ट भएको भन्दै राजनीतिक अवरोध भएन भने यही हिउँदे अधिवेशनमा यो विधेयक पास हुने मन्त्री भुसालको भनाइ छ ।