Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

ग्वार्को फ्लाइओभरमा अब ८ कम्पनी

ग्वार्को फ्लाइओभरमा अब ८ कम्पनी

काठमाडौं, २२ पुस । इलाइट कन्स्ट्रक्सनलले आफूलाई ग्वार्को फ्लाइओभर निर्माण गर्न अयोग्य बनाएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी गरेर पुनः योग्य भएको छ ।

उजुरीपछि कार्यालयले क्लिनचिट दिएसँगै सडक विभागले बिहीबार पुनः ८ कम्पनीलाई योग्य भन्दै आर्थिक प्रस्ताव माग गरेको हो। यसअघि विभागले ७ कम्पनीलाई मात्र योग्य ठहर गरेको थियो ।

ललितपुरको ग्वार्काे चोकमा निर्माण हुने चार लेनको फ्लाइओभर बनाउन अब ८ कम्पनी प्राविधिक रुपमा छनोट भएका छन्। सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले गत असारमा मागेको बोलपत्रमा ९ कम्पनीले आवेदन दिएका थिए । तिनै ९ कम्पनी मध्ये ८ कम्पनी प्राविधिक रुपमा योग्य रहेको विभागको भनाइ छ ।

फ्लाइओभर निर्माणका लागि एमआर हिम सगरमाथा जेभी, शर्मा एण्ड कम्पनी, लामागोल्डेन गुड जेभी, सूर्यर भ्याली र विकास र ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनकर श्रेष्ठ जेभी, तुन्दी र रसुवार रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष–समानान्तर–रेलिगर जेभीले आवेदन दिएका थिए ।

यी मध्ये केन्द्रले शर्मा एन्ड कम्पनी, सुर्य–भ्याली–विकास एन्ड ब्रदर्स जेभी, एएनके–श्रेष्ठ जोइन्ट भेन्जर, तुँदी–रसुवा–रोशन जेभी, कालिक कन्स्ट्रकसन, आशिष–समानान्तर–रेलिगर जेभी र एमआर–हिम सगरमाथा जेभी र इलाइट कन्स्ट्रक्सन प्राविधिक रुपमा फ्लाइओभर बनाउन योग्य देखिएका हुन् । यसअघि विभागले आर्थिक प्रस्ताव माग गर्दा इलाइट सूचीमा थिएन ।

गुणस्तर तथा अनुसन्धान विकास केन्द्रले प्राविधिक रूपमा योग्य भएका कम्पनीहरूसँग आर्थिक प्रस्ताव माग गरेको छ। केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आर्थिक प्रस्ताव माग गरेको हो । केन्द्रले छनोट भएका कम्पनीहरूलाई सात दिन भित्र आर्थिक प्रस्ताव पेस गर्न समय दिएको छ ।

चीन सरकारको सहयोगमा विस्तार भएको चक्रपथ पहिलो खण्ड कोटेश्वर–कलंकी ८ लेनको बनाउँदा समेत फ्लाइओभरको परिकल्पना गरिएको थियो। करिब १० किलोमिटर सडकको मुख्य जाम हुने तीनवटा चोकमा फ्लाइओभर निर्माण गर्ने योजना बनाइएको थियो ।

सडक विभागले पहिलो चरणमा ग्वार्काे चोकमा त्यसपछि सातदोबाटो र एकान्तकुनामा समेत फ्लाइओभर बनाउने योजना बनाएको छ ।

केन्द्रले इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण अघि बढाएको हो। । आफैले प्रारम्भिक सर्भे गरेर त्यसलाइ बेसलाइन मान्दै ईपीसी मोडलमा ठेक्का निकालिएको हो । यो मोडलमा डिजाइनदेखि खरिद हुँदै निर्माणसम्मको सबै काम निर्माण कम्पनीले नै गर्नेछ ।

ठेक्का पाउने कम्पनीले दुई वर्षमा फ्लाइओभर निर्माण सकेर हस्तान्तरण गरिसक्नु पर्ने प्रस्ताव गरिएको छ । ग्वार्काे चोकमा निर्माण हुने फ्लाइओभर चक्रपथको बीचमा रहेको चार लेनमा समानान्तर भएर निर्माण हुनेछ ।

फ्लाइओभरको कुल लम्बाई ४५५ मिटर हुनेछ। जसमा बालकुमारीतिरबाट २८० मिटरसम्म माथि उक्लदै बीचमा निर्माण हुने पुल ३५ मिटर सडकमाथि हुनेछ । उक्त पुलसँग जोडिन सातदोबाटोतिर १७५ मिटर लामो सडकमाथि उक्लिएको संरचना निर्माण हुनेछ । फ्लाइओभरको ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ ।

बालकुमारीतिरबाट सातदोबाटोतर्फ फ्लाइओभर निर्माण भएपछि इमाडोलतिरबाट पाटनतिर जाने सवारीसाधन फ्लाइओभरकै मुनि (अहिले भएको चक्रपथ) बाट पास हुनेछ । अर्थ मन्त्रालयले फ्लाइओभर निर्माणका लागि २४ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x