Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

डाँडाखेत–राहुघाट १३२ केभी प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता

म्याग्दी, २३ पुस । नेपाल विद्युत् प्राधिकरणले यहाँ निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले २६ मिलियन अमेरिकी डलरमा एलएनटीसँग ३१ डिसेम्बर २०२१ मा ठेक्का सम्झौता भएको जानकारी दिए ।

‘आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रतिस्पर्धामा सबैभन्दा कम दर प्रस्ताव गरेको एलएनटीसँग सम्झौता गरिएको हो,’ उनले भने, ‘सम्झौतालगत्तै ठेकेदारले डिजाइन र सर्वेक्षणको काम सुरु गरेको छ ।’ ठेक्का सम्झौताको अवधि ३० महिना छ । म्याग्दीको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र मध्य भूगोलबाट बग्ने राहुघाट तथा आसपासका नदीमा निर्माणको चरणमा रहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन लागिएको हो ।

पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनका ९० टावर निर्माण हुनेछन् । डाँडाखेत सबस्टेशनमा १३३÷३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ । २२०÷१३२÷३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सबस्टेशन जीआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताउनुभयो । एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सबस्टेशन निर्माण गर्न लागिएको हो । डाँडाखेतमा सबस्टेशन बनाउन चार वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।

दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२।८ मेगावाट क्षमताको चार जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । संसारको सातौँ अग्लो धवलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x