नेपालसहित १३ देशका कार्यकारी प्रमुखको सहभागितामा रूसमा भदौंमा बाघ सम्मेलन हुँदै
काठमाडौं, ११ माघ । आगामी भदौ २० गतेमा रुसमा विश्व बाघ सम्मेलन आयोजना हुने भएको छ । बाघ पाइने विश्वका १३ मुलुकका कार्यकारी प्रमुखहरु सहभागी हुने उक्त सम्मेलनको आयोजना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्दैछन् ।
कार्यकारी प्रमुखले भाग लिने जनाइएपनि नेपालबाट प्रधानमन्त्री वा कुन तहको उपस्थिती हुन्छ भन्ने टुंगो चाहिँ लागेको छैन । यसअघि बाघ पाइने देशका कार्यकारीको पहिलो सम्मेलन सन् २०१० मा रुसकै सेन्ट पिटर्सवर्गमा सम्पन्न भएको थियो । सो सम्मेलनमा नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र वनमन्त्री दीपक बोहरा सहभागी थिए ।
बाघ पाइने मुलुकका मन्त्रीहरुको शुक्रबार सकिएको चौंथो बैठकले रुसी राष्ट्रपतिले आयोजना गर्ने सम्मेलनलाई स्वीकार गरेको छ । साथै, सम्मेलन आयोजना गर्नको लागि रुसलाई धन्यवाद समेत दिएको छ । तीनदिने बैठकपछि सार्वजनिक गरिएको घोषणापत्रमा जनाइएअनुसार ‘दोस्रो बाघ सम्मेलनमा १३ देशहरूले सन् २०१० पछि संरक्षण क्षेत्रमा पाएको सफलताको कथा सुनाउनेछन्, ।
सम्मेलनमा सहभागी देशले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने संकल्प गरेका थिए । त्यतिबेला नेपालमा बाघको संख्या १ सय २१ थियो भने विश्वभर ३ हजार २ सय थियो । सन् २०१८ को गणनाअनुसार नेपालमा बाघको संख्या २ सय ३५ छ ।