४४ लाख ८८ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता
काठमाडौं, १८ फागुन । देशभर स्थायी लेखा नम्बर लिने करदाता संख्या ४४ लाख ८८ हजार नाघेको छ । आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ६ महिनामा स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ४४ लाख ८८ हजार २ सय ६५ पुगेको हो ।
यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता १७ लाख २२ हजार ४ सय ६३ अर्थात् ३८.३ प्रतिशत, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २७ लाख ५१ हजार ९ सय ९० (६१.३ प्रतिशत) र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १३ हजार ८ सय १२ (०.३ प्रतिशत) पुगेको छ । यसैगरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ९ हजार ३९ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९ सय ८ पुगेको छ।
चालू आर्थिक वर्षको पुष मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा स्थायी लेखा नम्बर लिने करदाताको संख्या ७.२४ प्रतिशतले बढेको छ । त्यस्तै, मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या १३.६१ प्रतिशतले घटेको छ भने अन्तशुल्कमा दर्ता हुने करदाताको संख्या १०.५८ प्रतिशतले घटेको छ । मासिक रूपमा विश्लेषण गर्दा थप स्थायी लेखा नम्बर लिने करदाताको संख्या सबैभन्दा उच्च भदौ महिनामा रहेको छ भने कात्तिक महिनामा यस्तो संख्या सबैभन्दा न्यून रहेको छ ।