अर्थमन्त्री शर्माका कारण अर्थसचिव, मरासिनी दबाबमा
काठमाडौं, २१ फागुन । अर्थमन्त्री जनार्दन शर्माको कारण अर्थसचिव मधुकुमार मरासिनी थप दबाबमा परेका छन् । अर्थमन्त्री शर्माको कारण अर्थतन्त्र संकटमा पार्न जथाभावी निर्णय गर्न थालेपछि अर्थसचिव मरासिनीले सरुवासमेत मागेको अर्थ मन्त्रालयले जनाएको छ ।
नाम नबताउने शर्तमा अर्थमन्त्रालयका एक उच्च अधिकरी भन्छन्, ‘प्रतिस्थापन बजेट आएपछि अर्थमन्त्री शर्माले मन्त्रालयका सहसचिवहरु परिवर्तन गरेपछि अर्थसचिव बढी चिन्तित देखिएका हुन् यस्तै अर्थमन्त्री शर्माले जथाभावी निर्णय गरेपछि अर्थसचिवकोसमेत कार्यसम्पादन राम्रो देखिएको छैन ।’
यसैगरी, आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई परिवर्तन गरे देखिनै अर्थमन्त्रीसँग अर्थसचिव मरासिनी असन्तुष्ट बनेका छन् ।
मरासिनीले युरोप, अमेरिका लगायतका मुलुकबाट ६ महिनादेखि १ वर्षसम्मका तालिम लिएका छन् । उनले अष्ट्रेलियन नेसनल युनिभर्सिटी (एआईयू)बाट अर्थशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । निजामति सेवामा पनि उनले अर्थ मन्त्रालयअन्तर्गत नै रहेर करिब २५ वर्ष बिताएका छन् । उनी सचिवमा बढुवा भएसँगै महालेखा नियन्त्रक बनेका थिए । त्यसपछि सरकार परिवर्तन भएपछि उनलाई अर्थसचिवमा अर्थमन्त्री शर्मालेनै ल्याएका हुन् ।