Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

शोधनान्तर घाटासँगै रेमिट्यान्समा कमी

शोधनान्तर घाटासँगै रेमिट्यान्समा कमी

काठमाडौं, २७ फागुन । चालु आर्थिक वर्षको सात महिनासम्मको तथ्यांक अनुसार अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था निरन्तर नाजक रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार खराब सूचकले निरन्तरता पाएका छन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार रेमिट्यान्स घट्ने क्रम जारी छ। सात महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको सुरुदेखि नै घटिरहेको रेमिट्यान्स दसैँ तिरहारजस्ता चाडपर्वमा पनि बढ्न सकेको थिएन। माघसम्म लगातार रेमिट्यान्समा ह्रास देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्मको अवधिमा ५ खर्ब ४० अर्ब १२ करोड रेमिट्यान्स भित्रिएको छ ।

आयातको वृद्धिदरमा भने केही लगाम लागेको छ । सातौं महिनामा पुग्दा आयात २८ प्रतिशतले बढेको थियो। छ महिनामा आयातको वृद्धिदर ५१ प्रतिशत थियो भने मंसिरमा ५९ प्रतिशत थियो ।

सात महिनाको तथ्यांकअनुसार ४ खर्ब १३ अर्ब ८६ करोडले चालु खाता घाटामा रहेको छ। गत वर्ष चालु खाता १ खर्ब ४ अर्बले घाटामा थियो ।

शोधानान्तर(नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर) घाटा २ खर्ब ४७ अर्ब २३ करोड पुगेको छ। अघिल्ला महिनामा प्रत्येक महिना यस्तो घाटामा ठूलो वृद्धिदर थियो । प्रत्येक महिना ठूलो अन्तरले घाटा बढिरहेको थियो। माघमा आएर घाटाको अन्तर भने साँघुरिएको छ । पुसमा ४६ अर्बले घटा बढेको थियो। माघमा आएर त्यस्तो घटा जम्मा ६ अर्बले विस्तार भएको छ ।

आयातको वृद्धिदर थामिएको, वैदेशिक ऋण तथा अनुदान बापतको रकम पनि केही भित्रिएको प्रभाव शोधनान्तरमा देखिएको हो । माघमै नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सहुलियत ऋण सुविधा अन्तर्गत ११ अर्ब भित्रिएको थियो ।

माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति ११ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ बराबर रहेको छ। यो असारको तुलनामा १६.२ प्रतिशतले न्यून हो । असारमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको विदेशी मुद्राको सञ्चिति थियो ।

माघको तुलनामा सञ्चितिमा सामान्य सुधार देखिएको छ। पुसको तुलनामा ८ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति थपिएको छ। तर अमेरिकी डलरमा भने सञ्चितिमा सुधार भएको छैन । डलरमा सञ्चिति भने अझै घटिरहेको छ ।

अहिलेको सञ्चितिले ७.४ महिनाको वस्तु तथा ६.७ महिनाको वस्तु तथा सेवाको आयात धान्न सक्ने राष्ट्र बैंकको अनुमान छ । ७ महिनामा भएको आयातको तथ्यांकका आधारमा यस्तो अनुमान गरिएको हो ।

अत्यावश्यक वस्तु बाहेक पनि उपभोग्य वस्तुको आयात अनियन्त्रित भएपछि विदेशी मुद्राको सञ्चितिमाथि दबाब पर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरिरहेको छ । भ्रमण सटहीमा कडाइ, सीमित वस्तुको आयातलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

यो अवधिमा मूल्यवृद्धिदर भने ५.९७ प्रतिशत पुगेको छ । विश्वव्यापी रुपमा मूल्यवृद्धि बढ्दै गएको छ । यसको प्रभाव नेपालमा पनि देखिँदै आएको छ ।

उपभोक्ता मुद्रास्फीति
२०७८ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.९६ प्रतिशत रहेको छ ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ । साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ माघमा यी क्षेत्रहरुमा क्रमशः २.१२ प्रतिशत, २.७८ प्रतिशत, ३.३० प्रतिशत र २.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x