अर्थ मन्त्रालयले थाल्यो बजेट लेखन
काठमाडौं, २७ काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८–७९का लागि बजेट लेखन शुरु गरेको छ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि मन्त्रालयमा बजेटको सिलिङ पठाएसँगै अर्थले बजेट लेखनका लागि टोली गठनको तयारी थालेको हो ।
अर्थसचिव मधुकुमार मरासिनीले बजेट मस्यौदा टोली गठन तथा कार्यतालिका निर्माण गरी अघि बढ्न निर्देशन दिइसकेको अर्थ मन्त्रालयका प्रवक्ता ढुण्डीप्रसाद निरौलाले बताए ।
‘नयाँ बजेट निर्माणार्थ अर्थसचिवज्यूले बजेट कार्यतालिका र टोली गठन गर्ने निर्देशन दिइसक्नुभएको छ’, निरौलाले भने, ‘जुनसुकै बेला पनि समिति गठन हुन सक्छ ।’
बजेट लेखन समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढाको नेतृत्वमा बन्न लागेको मन्त्रालय स्रोतले बतायो । यसै गरी राजस्व व्यवस्थापन महाशाखा प्रमुख भूपाल बराल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल, वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखा प्रमुख रमेशकुमार केसीलगायत सहसचिवहरु बजेट लेखन टोलीमा पर्ने लगभग निश्चित भइसकेको स्रोतले जनाएको छ ।
यस्तै अर्थमन्त्री, अर्थसचिव र राजस्वसचिवसहित उक्त बजेट लेखन टोलीले बजेट निर्माणको काम अगाडि बढाउने छ । बजेट निर्माणमा सबैभन्दा ठूलो भूमिका बजेट तथा कार्यक्रम महाशाखाको हो । हालका महाशाखा प्रमुख बुढालाई यसअघि बजेट निर्माणको अनुभव छैन । बराल, अर्याल र केसी यसअघि अध्यादेश बजेट प्रतिस्थापन गर्न बजेट लेखन टोलीमा संलग्न थिए । यसै गरी अर्थमन्त्रीका आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीसमेत बजेट लेखन प्रक्रियामा रहने स्रोत बताउँछ ।
राष्ट्रिय योजना आयोगले मध्यकालीन खर्च संरचनामा आधारित भएर १६ खर्च ९३ अर्ब रुपैयाँको बजेटको सिलिङ पठाएको छ । विभिन्न विषयगत मन्त्रालय तथा सरकारी निकायहरुले राष्ट्रिय योजना आयोगले पठाएको कार्यक्रमभित्र रही बजेटको सिलिङ पठाउन थालिसकेका छन् ।
आयोगले चैत २५ गते विषयगत मन्त्रालय, संवैधानिक निकाय, आयोग तथा सचिवालयले पठाएको खर्चको विवरणका आधारमा मध्यकालीन खर्चको संरचना र बजेट सिलिङ तयार पारी अर्थ मन्त्रालयमा पठाएपछि प्री–बजेट छलफलको काम अघि बढ्नेछ ।