Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निर्माण व्यवसायी महासंघमा भिडन्त

निर्माण व्यवसायी महासंघमा भिडन्त

निर्माण व्यवसायी महासंघको निर्वाचन मिति नजिकिएसँगै नेतृत्व आफ्नो पक्षमा लिन व्यवसायीहरुबीच दौडधुप सुरु भएको छ ।

फागुन २७ र २८ गते काठमाडौंमा हुने २३औं साधारणसभाबाट महासंघको नयाँ नेतृत्व चयन हुनेछ

यसअघि नै निर्वाचन गर्नुपर्ने भए पनि कोभिडका कारण ६ महिना पछि धकेलिएको थियो । फागुन अन्तिममा हुने निर्वाचनका लागि आफ्नो पक्षमा नेतृत्व हात पार्न दौडधुप सुरु भएको छ ।

अध्यक्ष पदका लागि हालका अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे खुलेरै प्रचारप्रसारमा लागिसकेका छन् । सिंह कार्यकाल दोहोर्याउने रणनीतिका साथ अघि बढेका छन् भने पाण्डे यसैपटक अध्यक्ष बन्ने दौडमा छन् ।

एउटै समितिमा रहँदासमेत अध्यक्ष सिंहको नेतृत्वले सोचेको जस्तो काम गर्न नसकेको भन्दै वरिष्ठ उपाध्यक्ष पाण्डेले सर्वसम्मत रुपमा नेतृत्व आफूलाई दिन लबिङ गर्दै आएका छन् ।

यता सिंहले पनि कोभिडका कारण चाहेको जस्तो काम गर्न नसकेको भन्दै एकपटक अध्यक्ष छोडिदिन अनुरोध गर्दै आएका छन् । यद्यपि उनीहरुबीच अध्यक्षका लागि सहमति हुने सम्भावना न्यून हुँदै गएको विश्लेषण व्यवसायीहरुबीच नै हुन थालेको छ ।

यसअघिको निर्वाचनमा सिंह र पाण्डे एउटै प्यानलबाट निर्वाचित भएका थिए । तर, अहिले भने उनीहरुबीच चुनावी टकराव सुरु भएको छ । महासंघमा आयोजित पत्रकार सम्मेलनमा सिंहले एकपटक नेतृत्व आफूलाई छाड्न आग्रह गरेका थिए भने पाण्डेले आफूलाई सर्वसम्मत अध्यक्ष बनाउन आग्रह गरे ।

हालसम्म यस विषयमा कुनै सहमति भने हुन सकेको छैन । अहिले सिंह र पाण्डे एकअर्कालाई रोक्नतर्फ लागेका छन् ।

यसैबीच महासंघको अध्यक्षका लागि सर्वसम्मत अध्यक्ष चयनका लागि पूर्वण्अध्यक्ष रमेश शर्मालाई अघि सारेका छन् । नेतृत्व छनौटका लागि ठूला कम्पनीहरुको हाबी हुने महासंघमा सर्वसम्मत गराउन शर्मालाई विकल्पको रुपमा अघि सारेका हुन् । शर्माले पनि सिंह र पाण्डेबीच सहमति नभए आफू पुनः अध्यक्ष हुने चाहना राखेका छन् ।

हालका अध्यक्ष सिंहसँग ठूला निर्माण कम्पनीहरु बिच्किएका छन् । अध्यक्षमा निर्वाचित भएदेखि नै ठूला निर्माण कम्पनीहरुको खेदो खन्दै आएका सिंहलाई यसपटक अध्यक्षबाट रोक्ने रणनीतिअनुसार नै शर्मालाई अघि सारिएको बताइन्छ ।

साना कम्पनीहरुको पक्षमा वकालत गरेको र ठूला कम्पनीहरुलाई बेवास्ता गरेको आरोप सिंहमाथि लाग्दै आइरहेको छ । यता पाण्डे पूर्णरुपमा परिपक्व नभएको विश्लेषण ठूला व्यवसायीहरुको छ ।

त्यसो त यसअघि सिंहलाई अध्यक्ष बनाउन पाण्डेको कम्पनी कालिका कन्ट्रक्सनले पनि साथ दिएको थियो । तर, यसपटक भने पाण्डेलाई सहयोग गर्ने÷नगर्ने विषयमा व्यवसायीहरुबीच मत बाझिँदै आएको छ ।

सिंहलाई नदिने र पाण्डेलाई पूर्णरुपमा विश्वास नगर्ने भएकैले शर्मालाई अघि सारेको दाबी एक व्यवसायीको छ । यसअघि महासंघ अध्यक्ष रहँदा पनि शर्माले राम्रो काम गरेकाले उनलाई विकल्पको रुपमा हेरिएको हुन सक्ने ती व्यवसायीको भनाइ छ । यद्यपि यस विषयमा औपचारिक कुनै निर्णय भने भइसकेको छैन ।

कसलाई कुन दलको समर्थन ?

महासंघको निर्वाचन नजिकिएसँगै आफ्नो पक्षमा माहौल बनाइदिन उम्मेदवारहरु राजनीतिक दलका नेताहरुको घरदैलो गर्न थालेका छन् । नेपाली कांग्रेसको समर्थन पाएका अध्यक्ष सिंह यसपटक पनि आफ्नो पक्षमा माहौल बनाउन नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन् ।

कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका सिंह केन्द्रीय सदस्यमा पराजित भएका थिए । पार्टीभित्र प्रकाशमान सिंहनिकट रहेका सिंहले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पक्षमा ह्विप जारी गर्न लबिङ गर्दै आएका छन् ।

प्रकाशमानमार्फत आफ्नो पक्षमा ह्विप जारी भए जित्ने दाबी उनको छ । तर, कांग्रेसभित्रै उनलाई यसपटक अध्यक्ष बनाउन नसक्ने भन्दै अर्को एक पक्षले लबिङ गरिरहेको बुझिएको छ । केन्द्रीय सदस्य एवं पूर्वअध्यक्ष जिपछिरिङ लामा, केन्द्रीय सदस्य मोहन आचार्यसहितका नेताहरु भने सिंहलाई सहयोग नगर्ने र शर्मालाई नै सर्वसम्मत रुपमा अध्यक्ष बनाउनेतर्फ छलफल अघि बढाएका छन् ।

अर्का उम्मेदवार पाण्डे पूर्वमन्त्री एवम राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेका छोरा हुन् । उनलाई राप्रपासहित नेकपा एमालेनिकट व्यवसायीहरुले सहयोग गर्ने वचन दिइएको बताइन्छ । पाण्डे आफ्ना बुवाको माध्यमबाट राजनीतिक दलहरुको सहमतिका लागि शीर्ष नेतृत्वहरुसँग लबिङ गर्दै आएका छन् । यसबाहेक ठूला कम्पनीहरुबीच पनि पाण्डेलाई नै अध्यक्ष बनाउनुपर्ने भन्दै छलफल चलिरहेको छ ।

तर, अन्तिममा पार्टीले ह्विप जारी गरेमा के गर्ने भन्ने अन्यौलमा व्यवसायीहरु छन् । महासंघका ६० प्रतिशत सदस्य कांग्रेसनिकट छन् । त्यसैले पार्टीले निर्णय गरेमा त्यहीअनुसार अघि बढ्नुपर्ने भएकाले अहिले नै के हुन्छ र कसलाई भोट दिने भन्ने निर्णय भइनसकेको कांग्रेसनिकट एक व्यवसायीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x