पेट्रोलियम पदार्थ आयात धान्नै गाह्रो
काठमाडौं, २९ फागुन । नेपालले चालू आर्थिक वर्ष २०७८÷ ०७९ पहिलो सात महीनामा कुल १ खर्ब ५५ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ ।
सोहि अवधिमा नेपालले जम्मा १ खर्ब ३१ अर्ब रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसको अर्थ हो नेपालले गर्ने जम्मा निर्यातको रकमले पेट्रोलियम पदार्थ मात्रै किन्न पनि पुग्दैन ।
आयात गरिने पेट्रोलियम पदार्थमध्ये एलपी ग्यासको रकम र परिमाण धेरै रहेको छ । नेपालले चालू आर्थिक वर्षको उक्त अवधिसम्ममा ३४ अर्ब ६९ करोड ४२ लाख ४६ हजार रुपैयाँ बराबरको ३ करोड ९७ लाख ५५ हजार ८८८ किलोग्राम एलपी जी ग्यास आयात गरेको छ ।
सरकारले प्रत्येक वर्ष बजेट मार्फत निर्यातलाई प्राथमिकतामा राख्दै आयात विस्थापन गर्ने लक्ष्य लिएको हुन्छ । तर नेपालको निर्यातको तथ्यांक हेर्ने हो भने सरकारी तथ्यांकलाईनै गिज्याइरहेको जस्तो देखिन्छ ।
नेपालले पछिल्लो सात महीनामा १ खर्ब ३१ अर्ब रुपैयाँको ७५० भन्दा बढी प्रकारका वस्तु निर्यात गरेको छ भने सोहि अवधिमा ११ खर्ब ४७ अर्ब रुपैयाँभन्दा धेरैको करीब ५ हजार प्रकारका वस्तु आयात गरेको छ ।
नेपालले एक महीनामा १३ अर्ब रुपैयाँको निर्यात गर्दा १ खर्ब ५४ अर्ब रुपैयाँभन्दा धेरैको वस्तु आयात गरेको छ । जुन निर्यातको तुलनामा करीब १२ गुणा धेरै आयात हो । यसमध्ये पेट्रोलियम पदार्थको आयातमा मात्रै बाहिरिएको रकम करीब साढे १३ प्रतिशतभन्दा बढी हो ।
नेपालको निर्यातको हिस्सा कुल आयातको साढे ११ प्रतिशत मात्रै हो । अर्थात् कुल निर्यात गरेको वस्तुबाट आउने रकममा थप २ प्रतिशत रकम अन्य स्रोतबाट जुटाएर पेट्रोलियम पदार्थ नेपालले आयात गरिरहेको छ। अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले आयात रकम दोब्बरजस्तै देखिएपनि परीमाण भने त्यति धेरै नबढेको नेपाल आयल निगमको भनाइ छ ।