अम्बे स्टील्सलाई एक महीनाभित्र विद्युत् दिने तयारी
काठमाडौं, २९ फागुन । नेपाल विद्युत् प्राधिकरणले बाँकेको नेपालगञ्ज क्षेत्रमा सञ्चालित अम्बे स्टील्स् उद्योगलाई एक महीनाभित्रमा करीब ३५ मेगावाट(मेवा) विद्युत् दिने भएको छ ।
प्राधिकरणले अहिले स्टील्स् उद्योगलाई करीब आठ मेगावाट विद्युत् आपूर्ति दिइरहेको छ । उद्योगले क्षमता विस्तारका लागि थप २७ मेगावाट विद्युत् माग गरेको छ । प्राधिकरणले उद्योगसम्म विद्युत् पु¥याउनका लागि आवश्यक सम्पूर्ण संरचनाको निर्माण सम्पन्न गरी एक महीनाभित्रमा थप २७ मेगावाटसहित अम्बे स्टील्सलाई ३५ मेगावाट विद्युत् दिन लागेको हो ।
उद्योगसम्म विद्युत् पु¥याउनका लागि कोहलपुर सब – स्टेसनबाट ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ । उद्योगले पनि थप विद्युत् आपूर्ति लिनका लागि आफ्नो परिसरमा सब स्टेसन निर्माण र कारखानाको क्षमता विस्तारलाई काम अन्तिम चरणमा पुरयाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वको टोलीले शनिवार स्थलगत अवलोकन भ्रमण गरी नेपालगञ्ज तथा कोललपुर औद्योगिक क्षेत्रमा सञ्चालित र आगामी दिनमा खुल्न सक्ने उद्योगहरुलाई विद्युत् आपूर्ति दिन निर्माण गर्नुपर्ने विद्युतीय पूर्वाधारका विषयमा छलफलसमेत गरेको छ ।
टोलीले नेपालगञ्ज क्षेत्रमा सबैभन्दा बढी विद्युत् खपत गर्ने अम्बे स्टील्स्को भ्रमण गरी एक महीनाभित्र विद्युत आफूर्ति लिने गरी आफूले गर्नुपर्ने सम्पूर्ण पूर्वतयारीका काम सक्न उद्योग व्यवस्थापनलाई आग्रह गरेको छ ।
‘विद्युत् खपत बढाउन उद्योगहरुलाई मागेजति विद्युत् दिइरहेका छौं, औद्योगिक करिडोरमा विद्युत् खपत बढाउन नयाँ पूर्वाधारको निर्माण र भइरहेका संरचनाको सुदृढीकरण तथा स्तरोन्नति अभियानकै रुपमा अगाडि बढाइएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
अहिले रहेको पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनबाट करीब १० किलोमिटर चार सर्किट १३२ केभी लाइन बनाएर १३२ केभीको सब – स्टेसनमार्फत आगामी दिनमा उद्योगहरुलाई विद्युत् आपूर्ति दिइने छ ।
कोहलपुर क्षेत्रका औद्योगिक तथा घरायसी ग्राहकलाई भरपर्दो, गुणस्तरीय र चाहिएजति विद्युत् दिन हाल रहेका वितरण प्रणालीको क्षमतालाई दोब्बर बनाउन लाइन र ट्रान्सफर्मर थप गर्ने योजनाअनुरुप काम भइरहेको कोहलपुर वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले बताए ।
प्राधिकरणले ठूला औद्योगिक हब बन्ने सम्भावना भएका बारा–पर्सा क्षेत्र, भैरहवा, सुनवल, परासीलगायतका क्षेत्रमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिरहेको छ ।