शेयर बजारमा हरियाली, १०१ अंकको वृद्धि
काठमाडौं– चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले शेयर बजारमा समेत उभार आएको छ । ब्याजदरसँगै चुनावले अर्थतन्त्र चलायमान गराउने संकेत तथा लगानी गर्ने क्षेत्र अन्यत्र कमजोर हुँदा शेयरमा पैसा आउन थालेकोले बजार बढेको विश्लेषकहरूले बताएका छन् ।
आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ । लगातार घटिरहेको शेयर बजारको ओरालो लाग्ने गत साताको बिहीबारदेखि रोकिएको थियो । बिहीबार ५२ अंकले बढेको बजारमा यो साताको पहिलो दिन आइतबार झनै उछाल देखिएको हो। आइतबार ४ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार सबै उपसूचकहरू उकालो लागेका छन् । फराकिलो छलाङ जीवन बीमा कम्पनीका शेयरले मारेका छन्। चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णय गरेको छ । बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन् । संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागु हुनेछ । यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।
यता अर्थमन्त्रीले समेत शेयर बजारमा आफू नकारात्मक नभएको भन्दै भाषण गरिरहनाले पनि सेयर बजारमा प्रभाव परेको छ । साथै चुनावी माहोल बन्दै जाँदा पनि शेयर बजारमा प्रभाव परेको छ ।
बैंकहरूले ऋण नदिएपनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले शेयर बजार बढेको हो । नेपाल जस्तो देशमा सुनमा खासै लगानी नगर्ने परम्पराका कारण र लगानी गर्ने क्षेत्र अन्य नभेट्दा पनि सेयर बजारमा लगानी आएको विश्लेषकहरू बताउँछन् । घरजग्गामा समेत लगानी असुरक्षित हुन थालेपछि लगानीकर्ताले सस्तोमा आएको शेयर उठाउन थालेपछि बजार बढेको विश्लेषकहरूको बुझाइ छ ।
गएको साताको अन्तिम कारोबारमा बिहीबार ५२.२१ अंकले बढेर बजार २५६६.७९ बिन्दुमा पुगेको थियो । बिहीबार ५६ लाख १० हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएको थियो ।